चन्द्रागिरि हिल्सले पायो उत्कृष्ट गन्तव्य पुरस्कार

काठमाडौं । चन्द्रागिरि हिल्स प्रालिलाई नेपालकै एक उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको छ । भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार साँझ आयोजना गरिएको विशेष कार्यक्रममा प्रालिलाई नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको हो ।

चौधौं वार्षिक अन्तर्राष्ट्रिय हस्पिटालिटी तथा ट्राभल अवार्ड कार्यक्रममा भारतका सामाजिक न्याय तथा वातावरण राज्यमन्त्री रामदाश अठवाले र पर्यटन राज्यमन्त्री के जे अल्फोनले चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पुरस्कार प्रदान गरे ।

भारत र विश्वका अन्य उत्कृष्ट पर्यटकीय गन्तव्यका साथै सेवा क्षेत्रको पहिचान गरी पुरस्कार प्रदान गर्न भारतको डिएलके पब्लिकेसन प्रालिले बर्सेनि ‘विश्व इण्डिया एण्ड एक्स्प्लोर हस्पिटालिटी ट्राभल अवार्ड’ वितरण कार्यक्रमको आयोजना गर्ने गर्दछ ।

नेपालको राजनीतिक, सांस्कृतिक र धार्मिक हिसाबले ऐतिहासिक मानिने चन्द्रागिरि हिल्समा केबल कार निर्माण गरी २०७३ साउन २६ गतेबाट सेवा शुरु गरिएको हो । त्यसयता हरेक दिन दुई हजारदेखि २२ सयको सङ्ख्यामा पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।

चन्द्रागिरि हिल्स प्रालिका जनसम्पर्क प्रमुख राजु पौडेलका अनुसार हिल्समा केबल कार चढेर गएको वर्षसम्म झण्डै साढे सात लाख पर्यटक पुगेका थिए ।

👤नेपालआज

प्रतिक्रिया दिनुहोस

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल गोप्य राखिनेछ