मर्न खोजें, सकिनँ

करिब तीन वर्षको अर्घाखाँची बसाइपछि म २८ दिनको बच्चा बोकेर बुटवल हुँदै पाल्पा पुगें । माइतीमा केही समय बिताएपछि फेरि अर्को जागिरको सिलसिलामा नवलपरासीको दुम्कीबास भन्ने ठाउँमा गएँ । मानिसले जीवनमा एकचोटि मर्न अथवा आत्महत्या गर्न खोज्छ रे ! मलाई त्यस्तो अवस्था त्यही दुम्कीबासको बसाइमा आइलाग्यो ।

०५० जेठदेखि नै प्रदीप ज्ञवालीको सरुवा नवलपरासीमा भएको थियो । उनले नवलपरासीमै राजनीति गर्ने भएपछि त्यहाँका महिला साथीहरू अत्यन्त उत्साहित हुनुभएको थियो । उहाँहरूकै पहलमा मलाई पनि त्यतै जागिर मिलाइएको रहेछ । युनिसेफबाट तलब खाने गरी अनेम सङ्घमार्फत् दुम्कीबास भन्ने ठाउँमा सिलाइ सिकाउने शिक्षकको नियुक्तिपत्र दिएर मलाई बोलाइयो– ०५० फागुनदेखि भदौसम्म ६ महिनाको लागि ।

उनी मलाई लिन आए र हामी दुई जनासँगै गयौं ।

नवलपरासीको सुनवलमा एक रात बसेर अर्को दिन करिब ६ बजेतिर दुम्कीबासमा कमरेड दिवाकर पौडेलको घर पुगियो । यताउता हेरें । किन हो किन, पहिलो नजरमै मलाई त्यो ठाउँ मन परेन । मलाई त्यहाँ एकछिन बस्न मन लागेन । म अत्यन्त कारुणिक अवस्थामा थिएँ । बहुदल आएको पनि चार वर्ष हुन लागेको थियो । त्यो बेला चैत २३ गतेको बलेटक्सार आन्दोलनको याद आयो । घरमा वृद्ध आमाबुबा र अपाङ्ग छोरी । स्कुल पढाउने बेला भइसकेको छोरा प्रशान्तलाई छाडेर फेरि अनकन्टार ठाउँमा ! जाबो दुई हजारको नोकरीका लागि ! न चिनजानका कुनै आफन्त छन्, न श्रीमान् साथमा नै बस्ने हुन् । त्यतिबेला तीन महिनाको मात्र थियो सानो छोरा स्वागत । फेरि कष्टपूर्ण जीवन !

मुलुकमा प्रजातन्त्र आएपछि कति टाठाबाटाहरूले पार्टीबाट धेरै अवसर लिइरहेका बेला म पूर्णकालीन राजनीति गर्ने एउटा कार्यकर्ताको श्रीमती अनि आफैं एउटा सामान्य कार्यकर्तासमेत ! मेरो परिवारको हातमुख जोड्न पटक–पटक ठाउँ फेर्दै, जिल्ला फेर्दै हिँड्नुपरेको पीडाले मलाई जलाइरह्यो ।

साँच्चै भनौं, म त्यतिबेला विक्षिप्तजस्तै बनेकी थिएँ ।

www.Zagg.Com/Register Online free

साँझ दिवाकर सर, लक्ष्मी म्याडम, छोराछोरीहरू सबै खुबै रमाइलो गफ गर्दै खाना खायौं । रातिसम्म दिवाकर सर र उनी राजनीतिक कुरामा व्यस्त रहे र माथि सुत्न गए । मेरो बच्चा सानो । लक्ष्मीले केही काम गर्न दिनुभएन । सबै काम आफैं गरेर म नजिकैको खाटमा सुत्न आउनुभयो ।

मलाई असाध्यै पीडा भइरहेको थियो– जिन्दगी सम्झेर । बोेल्नै मन लागेन । निदाएजस्तो गरें । बहुदल आएपछि पनि यसरी भौतारिनु परेकोमा सबैतिर असफल भएको र आत्मसम्मानमा ठेस लागेको महसुस गरिरहेकी थिएँ । आफू नितान्त असहाय र आफन्त कोही नभएको, बेसहाराजस्तो महसुस गरिरहेकी थिएँ । त्यो ठाउँमा एक्लै बस्नुपर्ने थियो– ६ महिनाका लागि । फेरि चराले गुँड सारेजस्तै कहाँ जानुपर्ने होला ? मन भारी भएको थियो ।

सोचें– श्रीमान्ले पनि मेरो भावना बुझेनन् । मैले आजसम्म गरेको दुःखलाई कुनै महत्त्व दिएनन् । त्यसबेला मेरो मनमा उनीलगायत सबैप्रति गुनासो रहिरह्यो ।

धेरै थाकेकाले होला– बच्चा निदाएको थियो । लक्ष्मीजी पनि निदाउनुभएको थियो । माथि सुतेका दिवाकर सर र मेरो श्रीमानको आवाज पनि सुनिएन ।

सबै सुनसान थियो । मलाई साह्रै छटपटी भइरह्यो । निदाउन सकिनँ । अलिअलि पिसाब लागेजस्तो, कतिखेर बान्ता होलाजस्तो भयो । हातमा विवाहको एकमात्र चिनो सिटिजन घडी थियो, रातिमा अङ्क देखिने । घडी हेरें– ११ बजेको रहेछ । उठें । अलि पर र अलि माथि थुम्कोजस्तोमा पुगें । पिसाब गर्न बसें, लागेन । उकउक गर्छु, केही आउँदैन । औडाहामात्रै भयो । थचक्क बसें । पूर्वतिर विनय खोला थियो । अलि माथि लामो पुल थियो, पूर्व–पश्चिम राजमार्गको । शायद पूर्णिमा आउँदै थियो होला । आकाशमा जून आधा लागेको, थोरै उज्यालो थियो । खोलाचाहिँ प्रस्ट देखिएको थियो ।

रातिमा पनि गाडी गुडिरहेका थिए । एक मनले विनय खोलामा हामफालेर मरौं जस्तो लाग्यो । फेरि के आयो कुन्नि मनमा ! लाश कहाँ पु¥याउला ? दुनियाँलाई दुःख । बरु पुलमा सुते त सबैलाई सुख, लाश खोज्नु पनि परेन । एकैचोटि झ्याम्म ! ट्रक यताउता मोडेर लाने बाटो पनि नहुने । बल्ल सबैले मलाई, मेरो भावनालाई बुझ्लान् भन्ने सोचें । घरमा अपाङ्ग छोरी, छोरा प्रशान्त, बुबाआमा कसैलाई पनि मैले सम्झिनँ । उठें । उभिएर टोलाइरहें । लगातार चार–पाँचवटा ट्रक आए ट्याँटुँ गर्दै ।

अलि काँपेजस्तो भएँ । ओहो, मैले यो के सोचें ? यो त कायरले मात्र सोच्ने हो ! मेरो तीन महिने बच्चाको के हाल होला ? घडी हेरें, पौने १२ भएछ ।

म फर्कें, मृत्युदेखि टाढा, त्यो दूधे बच्चालाई सम्झेर ।

सुस्तरी ढोका खोलें । लक्ष्मीजीले सोध्नुभयो, “कमरेड पेट दुखेको छ र ? निकै अबेर गर्नुभयो ।”

“हजूर,” म लगलग काम्दै बिस्तारामा पल्टिएँ । रातभरि छटपटाएर बिहानमात्र एक झप्को सुतें । बिहान मेरो सबै जिम्मेवारी दिवाकर पौडेलको परिवारलाई सुम्पेर श्रीमान् परासीतिर लागे ।

धेरै वर्षपछि मात्र मैले यो कुरा श्रीमानलाई बताएँ । निकै भावुक भए सुनेर— शायद त्यस्तो भएको भए के हुन्थ्यो भन्ने सोचेर होला ।

मैले भनें, “धेरै दुःख खेप्नुपर्ने भएर होला, पहिले बाघले खाएन, अहिले कालले पत्याएन ।”

पत्याएको भए सबै सकिने थियो । यो कुरा कहाँ लेख्न पाउँथें र ?

भोलिपल्ट दिनभरि मेरा लागि कोठा खोज्नुभयो दिवाकर सरले । राम्रो कोठा कतै पाइएन । दुम्कीवास न गाउँ, न सहरजस्तो थियो । साँझसम्म एउटा सानो कोठा । कोठा पनि के भन्ने, मुस्किलले एउटा खाट र टेबलमात्र अट्न सक्ने, खाटबाट झर्दा सिधै ढोकाको सङ्घारमा टेक्नुपर्ने अत्यन्तै सानो ओत पाइयो ।

घरबेटी बहिनी बिमलाले सामान मिलाउन निकै सहयोग गरिन् । भाइ सुवासले बच्चा हेरिदिए । म दुखियाको एउटा टिनको बाक्सा र केही खाना बनाउने भाँडाकुँडा, एउटा स्टोभ । त्यो बेला ग्यास किन्न कहाँ सक्नु ? कटिङ सिकाउन जाने ठाउँ पनि नजिकै थियो । केही महिला साथीहरूलाई चिनाइदिनुभएको थियो दिवाकरजीले ।

दोस्रो दिनदेखि अफिस जाने सल्लाह हुँदै थियो । अनेम सङ्घको स्थानीय नेता साथी आउनुभयो । सिलाइकटाइ कार्यक्रम अनेम सङ्घमार्फत् गर्ने भएकोले उहाँको राय लिनु आवश्यक थियो । दुवै जना कार्यक्रम सञ्चालन भएको ठाउँ हेर्न र चिनजान गर्न भनेर गयौं । भगवती श्रेष्ठ भन्ने साथीले सिकाउँदै हुनुहुँदोरहेछ ।

उहाँले मैले जानेको भन्दा केही छोटो र सरल तरिकाबाटै सिकाउनु हुँदोरहेछ । मेरो सिकाइ भने अलि लामो थियो । कहाँ म साना विद्यार्थीहरूको माझ रम्ने मान्छे ! त्यहाँ त मभन्दा पाका उमेर र धेरै ठूलो ज्यानसितका महिलाहरू । २६ जनाजति मेकअपमा सजिएका । म भने तीन महिनाकी सुत्केरी । केही खान नपाएकी जस्ती ! ख्याउटी, दुब्ली, बिनामेकअप, साधारण, फुच्ची आइमाई । त्यसबेला न मलाई अनेम सङ्घकी ती साथीले विश्वास गरिन् न ती मेरा विद्यार्थीहरूले ।

मैले जम्मा अढाई महिना सिकेका ३२ वटा आइटममात्र थिए । त्यहाँ त ६ महिने कोर्स, त्यही पनि शुरुकै दिन चौबन्दी सिलाउन सिकाउनुपर्ने । ६ महिनामा ६० वटा आइटम सिकाउनुपर्ने रे ! महिला साथी अलि खरो र रुखो स्वभावकी जस्तो लाग्यो । अलि अव्यावहारिक कुरा गरिन् । त्यसै त त्यो ठाउँमा जाँदा असहाय मनमा पीडा थियो मलाई । अझ त्यस्तो व्यवहार देख्दा म त इन्तु न चिन्तु भएँ ।

सबैभन्दा सानो आइटम भोटो, टोपी र पेटिकोटबाट सिकाउन शुरु गरें । उनीहरूले या त बुझेनन्, या पत्याएनन् । अलि खलबल र मुखामुख गरिरहे । यस्तै गरी ४–५ दिन बित्दै थिए, पार्टी कामका लागि काठमाडौं जाँदै गर्दा श्रीमान् कोठामा पसे । मैले यो समस्या राखें र भनें, “कटिङको छोटो तरिका लक्ष्मी भाउजूले सिक्नुभएको थियो । पहिले मैले देखेकी थिएँ । भाउजूसँग मागेर त्यो ड्राफ्ट ल्याइदिनू ।”

भाउजूले दिनुभएछ । मैले दुई दिनमै पाएँ । रातभरि नसुतेर सबै लेखोट मेरो कपीमा सारें । अर्को दिनदेखि निर्धक्क भएर मेरो काममा खटें । मेरो पहिलेको ड्राफ्ट त थियो, तर धेरै लामो तरिकाले सिकाएको । त्यहाँ सिक्ने कतिपय महिलाहरू त सामान्य अक्षरसम्म मात्रै चिनेका । त्यसैले मेरो तरिकाबाट सिक्न असजिलो भएको रहेछ ।

यो कुरा थाहा पाएपछि मैले सकेसम्म सरल र व्यवहारिक तरिकाबाट सिकाएँ । सबैलाई गीत, कथा, कविता, उखान–टुक्का भनेर हँसाउँदै रमाइलो गर्दै सिकाएँ । सिक्ने मान्छे थपिँदै गए । ३२ जनाजति भए । त्यसमा एकजना परियार भाइ पनि थिए, असाध्यै लगनशील र अनुशासित ।

त्यो समय अर्घाखाँचीमा जस्तै त्यहाँ पनि काङ्गे्रस र कम्युनिस्टबीच पानीबाराबारको स्थिति रहेछ । मैले एमालेका तर्फबाट महिलाहरूलाई सिकाएको भनेर त्यस कार्यक्रमबाट काङ्गे्रसहरू रुष्ट रहेछन् । उनीहरूले त्यहाँ आउने एक–दुई जना महिलालाई भड्काएछन्, “त्यो आइमाई तिमीहरूलाई सिकाउन होइन, राजनीति गर्न आएकी हो । तिमीहरू नजाऊ, हामीले सिकाउछौं ।”

उनीहरूले हाम्रोभन्दा १० मिनेट पर सिलाइकटाइ तालिम कार्यक्रम शुरु गरेछन्, पेन्टिङसमेत ।

हाम्रा विद्यार्थीले पनि पेन्टिङ चाहियो भने । ममा आत्मविश्वास जागिसकेको थियो । साधारण पेन्टिङको कुनै समस्या थिएन । मैले भनें, “पहिले तपाईंहरू राम्रोसँग सिलाइ सिक्नुहोस्, यो अनिवार्य छ । यसलाई तपाईंहरूले पेसा बनाउन सक्नुहुन्छ । मैले तपाईंहरूलाई ६० होइन, ६५ वटा आइटम सिकाउँछु । उताको कुरा अहिले नगरौं । तीन महिना हेर्नुस्, जहाँ राम्रो लाग्छ उतै जानुहोला ।”

नयाँ तरिका अपनाएपछि मलाई कुनै समस्या भएन । हाम्रो सिलाइ सिकाइ कार्यक्रम एकदमै राम्रोसँग सञ्चालन भयो । कुनै विद्यार्थी टसमस भएनन्, कोही पनि उता गएनन् ।

केही मान्छेहरूलाई डाहा भएछ । मेरो सानो बच्चा भएकाले राम्रोसँग पढाउन नसकेको जस्ता कुरा पो कुरा उठाएछन् । हाम्रोमा सिक्न आउने एकजना काङ्गे्रस समर्थक महिलाले के–के कुरा गरेर सहभागीहरूलाई भड्काउन थालिछन् । साथी सीता गिरीले थाहा पाएर मलाई सुनाउनुभयो । अफिस गएपछि सबैलाई जम्मा पारेर पूरा दुई घण्टा आफ्नो कुरा भनें । बच्चाको कुरा गर्ने महिला त रातोपीरो भइन् । अनि होइन–होइन भन्दै मुखामुख गरिन् ।

त्यस दिन मैले उनीहरूसँग भनें, “तपाईंहरू त मभन्दा धेरै पाका र असल आमाहरू हुनुहुन्छ । मैलेभन्दा धेरै कुरा जान्नु, बुझ्नुभएको छ । तपाईंहरूले एउटी महिलाले भोग्नुपर्ने सबै कुरा भोगिसक्नुभएको छ र आफूजस्ता महिलालाई सहयोग गर्नुहुन्छ होला भन्ने मैले सोचेकी थिएँ । तपाईंहरू जस्ता पाका महिलाले पनि यस्तो सानो कुरा गर्नुहोला भन्ने लागेको थिएन । आज तपाईंहरूसँग एउटा प्रश्न गर्छु, आफूलाई मन लागेको उत्तर दिनुहोला । के मेरो तीन महिने बच्चाले तपाईंहरूको हात बाँधिदिएको छ ? के मैले मेरो बच्चा सानो छ भनेर कुनै दिन तपाईंहरूको काममा बाधा हालें ? के मैले कुनै दिन तपाईंहरूमध्ये कसैलाई बच्चा हेरिदिनुस् भनें ? मेरो बच्चाले तपाईंहरूको कुन काममा बाधा पा¥यो ?”

यति भनेपछि त्यहाँ सबै मेरो पक्षमा भए । कसैले त्यस्तो सोचेकै रहेनछन् ।

मेरा बच्चाहरूले सानोमा पाउनुपर्ने स्याहार र पाउनुपर्ने राम्रो आहारा पाएनन् । उनीहरूले सधैंभरि अभावै अभाव झेल्नुप¥यो । धूलोमैलो खेलाएरै दिन बिते । साह्रै कष्ट सहेका छन् सानोमा मेरा सन्तानले । तैपनि हाँसीखुशी नै थिए । यसो हात खाली भयो कि सबैले खोसाखोस गर्र्थे । अझ परियार भाइ त स्वागतलाई नखेलाएसम्म अरु कामै छुँदैनथे ।

सिक्नेमध्ये अलि पाकी एकजना गुरुङ महिलाले हाँस्दै भनेकी थिइन्, “मेडमको बच्चा त रुन पनि जान्दैन । हक्न मोत्न पनि जान्दैन । कति ज्ञानी होला !”

एकदिन बच्चालाई परालको बाक्लो थुप्रोमा बसालेर सबैको हाजिर गरें । बोर्डमा ड्राफ्ट दिँदै थिएँ । ऊ त रुन पो थाल्यो । ऊ रुँदै थियो, मैले काम गर्दै थिएँ ।

काम सकेर के भयो भनी काखमा लिएँ । रुन छोडेन । दूध चुसाएँ । चुप हुँदैन । रोएको रोयै भयो । पालैपालो सबैले काखमा लिए, कसैसँग मान्दै मानेन । रुवाइ बढ्दै गयो । ऊ त रातो–रातो र तातो हुँदै गयो । सबै डराए ।

अनि सीता गिरीले लिनुभयो र अलि पर लगेर नचाउन थाल्नुभयो । झनै उचालियो, झस्केजस्तै । अनि पो उहाँलाई शङ्का लागेर चाकमा हेर्नुभयो, त्यहाँ त थाङ्ना सिलाउने ठूलो सियो पो गडेको रहेछ ! कति कोसिस गरियो, निकाल्न सकिएन । खिया लागेको रातो सियोको नाथ्रीमात्रै देखियो । हेल्थपोस्टमा लगेर मात्र निकाल्न सकियो ।

त्यस्तै अर्को दिन मेसिन भएको टेबुलमा उसलाई राखेर अरुलाई सिकाउँदै थिएँ । ऊ रोयो । एउटा हात मेसिनको सियो राख्ने भागमा राखेछ र अर्को हातले हेन्डिल घुमाएछ । अनि त देबे्र हातमा दुईवटै औंला पूरै च्यापिएछ र आगोले पोलेको फोकाजस्तो भएछ । राति ज्वरो आयो । एक हप्तासम्म बिरामी भयो ।

बाबुको कुनै खबर थिएन । बच्चा यस्तो भयो भनेर भन्न पनि नपाइने । पार्टीको काम पनि कहिल्यै नसकिने । मलाई त्यस्तो अवस्थामा छाडे पनि समय नै मिलाउन नसक्ने । घरबेटी दिदी पनि निकै रिसाउनुभएको थियो । भन्नुहुन्थ्यो, “नानी, लोग्ने मान्छेको मन त ढुङ्गाको हुँदोरहेछ । बच्चा यस्तो बिमारी हुँदा नआएको बाऊ अरु बेला किन चाहियो ?”

यस्तै बाहिर पनि कतै कुरा भएको रहेछ कि ?

एकदिन अफिस गएँ । हाजिर गरें । विद्यार्थीहरूलाई काम दिएर सबैको काम हेर्दै थिएँ । दुई–चार घर पल्तिर एउटा पसल थियो । पसलबाट कोही मलाई बोलाउन आए । ‘एकछिन है !’ भन्दै म त्यता गएँ ।
त्यहाँ तीन–चार जना पाका ‘विधवा’ महिला र अरु दुई जना ‘सधवा’ महिला गफ गरिरहेका रहेछन् । सबैलाई नमस्ते गरें ।

“मलाई किन बोलाउनुभएको हो ?”

त्यहाँमध्येकी बूढी मान्छेले सोधिन्, “नानीको घर कहाँ ? के थरी ?”

बताएँ । अनि अर्कीले सोधिन्, “छोराछोरी कति छन् ?”

“एउटी छोरी दुईवटा छोरा ।” छोटै उत्तर दिएँ र हिँड्न लागें ।

फेरि अर्कीले भनिन्, “जागिर रै’छ क्यारे, दुइटा छोरा पनि रै’छन् । यिनै ठूला भएर गर्छन्, सुख दिन्छन् ।”

किन भूमिका बाँधेका होलान् यिनीहरूले ? के थाहा पाएर यसो भनेको होला ? कतै केही दुर्घटना त भएन ? म छाँगाबाट खसेजस्तै भएँ । आत्तिदै सोचँे– जहिलेसुकै आन्दोलनमा उनी अगाडि, अरु पछाडि । अर्घाखाँची हँुदाको बयान त त्यहीँका साथीहरूले गर्लान् । तर, एकपटकको घटना सम्झें, बसिर मियाँको हत्यापछिको आन्दोलन थियो क्यारे ! उड्न ठिक्क परेको हेलिकोप्टरबाट सीडीओलाई लछारपछार पार्दै पाखुरा समाएर तानेका थिए । यस्तै केही भयो कि ?

आत्तिएर सोधें, “के भयो र आमा ?”

“ए, केही भएर त होइन, त्यत्तिकै तपाईंको माया लागेर,” सहजै जवाफ दिए ।

फेरि सोधें, “नढाँट्नुहोस् आमा, के भएको हो, छिटो भन्नुहोस् मलाई । हतार भयो ।”

त्यसपछि पो थाहा भो उनीहरूको शङ्काको कुरा । शङ्काले लङ्का जलाएजस्तै भएछ । उनीहरूले भने, “बाबुले त परासीतिर बिहा गरेर बस्नुभा’छ रे नि नानी ! तपाईंलाई केही नपाएर त्यस्तो ठाउँमा राखेर । कोठा पनि यत्रै सानो छ रे भन्छन् !”

मलाई साह्रै रिस उठ्यो । “आमा, यस्ती बूढीमान्छे भएर पनि अरुका बारेमा यस्ता कुरा गर्नेे ? मेरो लोग्ने कस्तो छ भन्ने त मैले हो नि जान्ने, तपाईंहरूलाई थाहा हुन्छ र ? उहाँको जागिर उता छ । मेरो यता । सँगै बस्न मिलेन । फेरि म त जम्मा ६ महिना मात्रै यहाँ बस्ने हो ।” म तुरुन्तै आफ्नो काममा फर्कें ।

मलिन अनुहार थियो कि खै ! सीताजी यस्ता कुरामा अलि ख्याल गर्ने गर्थिन् । सोधिहालिन्, “के रै’छ र मेडम ? निकैबेर लाउनुभयो नि ?”

“खासै केही होइन, त्यत्तिकै !”

तर मेरो मन भने उदास भइरह्यो दिनभरि । अपमानित सम्झें आफूलाई । मेरो त्यस्तो असल लोग्ने भएर पनि यिनीहरूले हेपे । बहुदल आएको यत्रा वर्षमा पनि मेरो लोग्ने यो हो भनेर कुनै दिन सँगै हिँड्न मौका पाइएन । मान्छे हो, सर्वसाधारण मान्छेजस्तै नेताकी स्वास्नीको पनि यौवन हुँदो रहेछ । सँगै बस्ने, सँगै हिँड्ने रहर लाग्दो रहेछ । आफ्नो प्रिय जीवनसाथीको याद आउँदो रहेछ ।

यो घटनाको एक हप्ता जति पछि श्रीमान् साँझ कोठामा आइपुगे । बिहानै परासी जानेगरी । त्यही दिन घरबेटी दिदीले पनि रिस पोख्नुभयो, बच्चा बिरामी हुँदा नआएकोमा । उनले कुरा अलि मिलाएर सम्झाए, “तपाईंहरूको जिम्मामा, तपाईंहरूको काखमा भएपछि मलाई केको पीर छ र ? फेरि उता पार्टीको काम धेरै छ । आउन मिल्दैन ।”

बिहान छिट्टै हिँड्न लागेका थिए । मैले खाना खाएर जान जोड गरें । उनले मानेनन् । मैले मेरो अफिसमा देखिएर जान भनें । तर माने पो !

“अँ, अब काम नपाएर म फलानीको श्रीमान् हुँ भन्दै हिँड्नु, नचाहिने कुरा !” आफूलाई कति अप्ठ्यारो परेको थियो । फकाएँ । कहिलेकाहीँ त घुक्र्याएजस्तो पनि गर्नुपर्ने !

“यहाँँ अनेक कुरा भएको छ । म खाना खाएर जान्छु । अलिपछि चाँबी दिन आउनू । त्यति भए त सबैले देख्छन् । मलाई सजिलो हुन्छ,” सबै कुरा बताएँ ।

बल्ल उनले माने ।

म बच्चा बोकेर अफिस गएँ । सबै आइसकेका थिए । मैले ड्राफ्ट दिँदै थिएँ । उनी आए र मलाई बोलाए । गएँ । चाँबी हातमा लिएर फर्किन लाग्दा फेरि भने, “छोरा खोई ? लिएर आऊ त !”

उनले एकछिन बच्चा खेलाए । सबैले हेरिरहेका थिए ।

“मेरो श्रीमान्,” गर्वले मेरो लोग्ने अनि छोराको बाउ देखाएँ । सबैले जिब्रो पो टोक्दै थिए ।

पाठकहरूलाई मेरो जीवन पढ्दा कता–कता अनौठो लाग्ला, अहिलेको अवस्थामा । तर, मेरो जीवनका हरेक क्षण यस्तैयस्तै कुराले भरिएका छन् । यो कुराका साक्षी छन् दुम्कीबासका मेरा प्रिय सहयोगी साथीहरू, खासगरी सीता गिरी ।

अनेक क्षण पार गर्दै दुम्कीबासको ६ महिने मेरो दुःखी जीवन सकिँदै थियो । फेरि ६ महिनाका लागि नवलपरासीकै बासाबसाही भन्ने ठाउँमा जाने तयारी भइसकेको थियो । दुम्कीबासका मेरा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरणको कार्यक्रम राखियो । त्यतिबेला त्यहाँ काङ्गे्रस, एमालेमात्रै थिए । उनीहरूका प्रतिनिधि पनि उपस्थित थिए । प्रमाणपत्र वितरण गरियो । मैले लामै भाषण गरें । काङ्गे्रसकी महिला प्रतिनिधिलाई मन परेछ, निकै प्रभावित भइछन् । पछि मलाई गाविस भवन उपलब्ध गराउँछौं, धेरै महिलाहरू जुटाउछौं, एकपटक फेरि सिकाइदिनुस् भनेर आग्रह गरिन् । तर, अर्को ठाउँमा जाने तयारी भइसकेको थियो ।

यहाँनेर मलाई लाग्यो, अथक प्रयास गरेर मैले कसैको मन त जितेछु । पहिले विरोध गर्नेहरूले मलाई फेरि ६ महिना सिकाइदेऊ भनेर प्रस्ताव गर्नुलाई मैले आफ्नो सफलता मानें ।

अहिले पनि त्यहाँ बसेको पहिलो रातको स्मरण गर्छु । पहिलो दिन जे–जस्तो लागे, सोचे पनि मलाई त्यहाँका सबै सहयोगी साथीहरूको सम्झनाले सताइरहन्छ ।

फेरि त्यो ठाउँमा जान पाएकी छैन । मेरो मृत्यु नआएको दिवाकर पौडेलको बारीको डिल, त्यो विनय खोला अनि काठमाडौंबाट उज्यालो लिएर लगातार गइरहेका ती ट्रकहरूको ताँती सबैसबै सम्झिन्छु  ।

धन्य, ती ट्रक ड्राइभरहरूलाई, जसको ट्रकको उज्यालोले मेरो जीवनलाई मृत्युबाट जोगायो । जीवन बाँच्ने आशा पलायो ।

(सरस्वती ज्ञवालीको आत्मकथा ‘लालटिनको उज्यालोमा’बाट । अक्षर क्रियसन्सद्वारा प्रकाशित पुस्तक हिजो शनिबार विमोचन थियो।)

  • बाह्रखरी
प्रतिक्रिया दिनुहोस

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल गोप्य राखिनेछ