रेलमार्गका लागि चीन नेपालको प्रस्ताव पर्खिरहेको छः राजदूत पौड्याल

मंंसिर२०। चीनका लागि नेपाली राजदूत लीलामणी पौड्यालले हङकङमा नेपाल र चीनको सम्बन्ध अझ सुमधुर र बलियो बन्दै गएको बताएका छन्।

आइतबार हङकङस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजना गरिएको एक छलफल कार्यक्रममा पौड्यालले नेपाल–चीन सम्बन्धबारे चर्चा गरेका हुन्।

हङकङस्थित प्रमुख प्रशासकसँग विशेष छलफलपछि राजदूत पौड्यालले यहाँ रहेका नेपाली उद्यमी र व्यापारीसँग त्यसबारे बताएका हुन्।

सहभागीहरुले उठाएका प्रश्नको जवाफ दिँदै राजदूत पौड्यालले चीन र नेपाललाई जोड्ने रेलमार्गका लागि दूतावासको पहलमा बेइजिङबाट प्राविधिक टोली नेपाल पुगेर केरुङ–काठमाडौं–पोखरा रेलमार्गको भौगोलिक अध्ययन गरेको बताए। उनले रेलमार्गका लागि चीन अब नेपाल सरकारको औपचारिक प्रस्तावको पर्खाइमा रहेको बताए।

भूकम्पपछि नेपाल–चीनबीचको तातोपानी नाका सञ्चालनमा आउन कठिनाई भइरहेको बताउँदै पौड्यालले भने, ‘केहि दिनअघि तातोपानी नाकाबाट धुलिखेलसम्मको सडक स्तरोन्नतीका लागि चीनले १६ अर्ब रुपैयाँ सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भैसकेको छ, अब चाँडै तातोपानी नाका सञ्चालनमा आउने छ।

हङकङमा नेपाली भाषाको पढाइका लागि के गर्न सकिन्छ भन्ने सहभागीहरुको प्रश्नको उत्तर दिँदै राजदूत पौड्यालले नेपाल सरकारले भाषा शिक्षक, पुस्तक, प्रशिक्षक लगायतका सहयोग गर्न तयार रहेको तर नेपाली समुदायमा भाषा शिक्षण गर्न वातावरण तयार गर्नु पर्ने सुझाव दिए।

हङकङमा नेपालीद्वारा सञ्चालित तीनवटा किल्डर गार्डेन, हङकङ पुलिसमा नेपालीको प्रवेश, विभिन्न सरकारी क्षेत्रमा नेपालीको सहभागिता स्वागत योग्य काम भएको राजदूत पौड्यालले बताए।

चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा बसोबास गर्ने नेपालीहरुको जातीय विविधता, धर्म, संस्कृति र परम्पराको प्रवद्र्धन गर्नका लागि नेपाली क्लब हाउस सञ्चालन गर्न हङकङकी प्रमुख प्रशासकसँग छलफल भएको पौड्यालले बताए।

नेपालमा प्रचुर सम्भावना भएको पर्यटन क्षेत्रलाई टेवा पुर्याउन ‘माउथ टु माउथ’ प्रचार गर्नु पर्ने राजदूत पौड्यालले बताए। ‘नेपालमा धेरै कुरा बिग्रिएको होला तर धेरै सम्भावना र अलौकिक धरोहरहरु छन्’, उनले भने, ‘सुन्दर र मनोहर दृश्यले नराम्रा कुरालाई बिर्साइदिन्छ, र सबै ठिक हुन्छ भनेर हामी विश्वास पनि गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल गोप्य राखिनेछ