सासुले गरिदिए बुहारिको बिहे।

भद्रपुर : ‘मामु यता हेर्नु न, बाबा हजुर पनि।’ तीन वर्षमै बाबु गुमाएका मेचीनगर–९ का आशुतोष अधिकारी नजिकै उभिएका बेहुलालाई ‘बाबा’ भन्दै फोटो खिच्दै थिए। आमाको दोस्रो बिहेमा मोबाइलले फोटो खिच्दै गरेका आशुतोष हर्षित देखिन्थे। उनकी हजुरआमा अञ्जु अधिकारी भने सुकसुक गर्दै रुँदै बुहारीलाई सम्झाउँदै थिइन्। ‘अहिलेसम्म मैले कति गाली गरें, कति माया गरें तर तेरै इज्जतका लागि छोरी भनेर गरें। केही गल्ती गरेकी रै’छु भने माफ गरिदेऊ है !’

बुहारीलाई छोरी मानेर खुट्टा ढोग्दै थिइन् उनी। जब सिन्दुर हाल्ने बेला भयो उनी रुँदै घरभित्र पसिन्। आफन्त, बेहुला र बेहुलीका साथीसंगी भावुक भए। अञ्जुका श्रीमान् ३० वर्षअघि बिते। त्यति बेलाको समाजमा उनले दुई छोरी र एक छोरा संघर्ष गरेर हुर्काइन्। विवाहित महिलाको जीवन लोग्नेबिना कति पीडादायी हुन्छ भन्ने आफूले भोगेकी हुनाले बुहारीको हविगत आफ्नो जस्तो नहोस् भनेर बिहे गरिदिएको उनले सुनाइन्।

उनले छोराको बर्खान्तपछि बुहारीलाई बिहे गर्न सुझाइन्। जीवन धेरै लामो रहेको भन्दै उनले कोही मन परेको छ भने भन्न आग्रह गरिन्। तर, बुहारीले छोरो सानै रहेकाले हुर्काउने र सासूको स्याहार गरेर बस्ने बताउँदै आएकी थिइन्। अञ्जुले बिहीबार भने उनै बुहारीको बिहे गराइन्।

अञ्जुका नाममा ६ धुर जमिन थियो। छोरोले २०७० माघ १६ गते घरभित्र झुन्डिएर आत्महत्या गरे। भारतको सिलिगुडीमा गाडी चलाउने पेसा अँगालेका उनी १५ महिनापछि घर आएकै दिन घरभित्र झुन्डिएको अवस्थामा फेला परेका थिए। बुहारी दीपा भर्खर २१ वर्षमा टेकेकी थिइन्। साथमा तीन वर्षका नाति थिए। ‘म आफैँ सम्हालिन गाह्रो भएका बेला मेरो काँधमा कलिलै उमेरमा विधवा बनेकी बुहारी र नाति लालनपालन गर्ने जिम्मेवारी थियो’, उनले स्मरण गरिन् ।

सासू–बुहारी मिलेर चारआलीको पाउ पाथीभरा मन्दिरमा पूजा सामग्रीको पसल राखे। नजिकै अर्को पसल पनि थियो। त्यो पसलकी महिलाले बुहारी दुई नाति छाडेर अर्कैसँग हिँडेकापछि छोरो एक्लै रहेको सुनाइन्। ‘तपाईंकी बुहारी मेरो छोरोलाई दिनु’ भनेपछि बिहेको कुरा अघि बढेको अञ्जुले उल्लेख गरिन्।

उनका अनुसार त्यसपछि केटा र केटीले कुरा गरे। उनीहरू बिहेका लागि तयार देखिए। अञ्जुले केटाको बारेमा बुझिन्। कुनै समस्या नहुने देखेपछि बुहारीको बिहेका लागि सहमत भएको उनले बताइन्। दीपाका (बेहुली) बुवा लेखनाथ घिमिरे पनि छोरीको बिहे हेर्न बिहानै धरानदेखि आएका थिए। पहिला नै बिहे गर भनेर छोरीलाई भने पनि उनले नमानेको घिमिरेले सुनाए।।

मेचीनगर–९ का वडाध्यक्ष गोपाल खड्काले एकल महिलालाई उसले चाहेको खण्डमा घरपरिवारसँग सल्लाह गरेर नयाँ जीवनको बाटो खोलिदिनुपर्ने बताए। विवाहमा एकल महिला सशक्तीकरण मेचीनगरकी अध्यक्ष मीरा काफ्ले पोख्ररेलले दीपा ‘समाजकै प्रिय बुहारी’ भएको बताइन्।

 

प्रतिक्रिया दिनुहोस

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल गोप्य राखिनेछ