बलेटक्सारबासी चार दिनदेखि खोलाको लेदो पानी पिउन विवश

गुल्मी ।  विद्युतको पोल ढलेर विद्युत अवरुद्ध हुँदा गुल्मीको बलेटक्सार गाउँका बासिन्दा लिफ्टिङ सिस्टम खानेपानी उपभोग गर्नबाट बञ्चित भएका छन् । चार दिन अघि बलेटक्सारको लामीडाँडामा विद्युतको पोल ढलेको थियो । विद्युत अवरुद्ध हुँदा बलेटक्सार बजार लिफ्टिङ सिस्टम सुचारु हुन नसकेको हो ।

‘चार दिनदेखि यहाँ झण्डै ३ सय घरधुरी उपभोक्ता खोलाको लेदो पानी पिउनु परिरहेको छ,,’ उपभोक्ता  समितिका अध्यक्ष देवनारायण ज्ञवालीले भने, ‘मैले पटक पटक विद्युत प्राधिकरण रिडी शाखालाई मर्मतका लागि आग्रह गर्दा पनि सुनुवाई हुन सकेन ।’
ज्ञवालीले बुधबार विहान विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुखलाई पनि मर्मतका लागि आग्रह गरेको बताए । 

रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्सारका बासिन्दा सदियौंदेखि खानेपानीको हाहाकार भोग्दै आएका हुँदा गुल्मी क्षेत्र नम्वर २ का सांसद तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले साढे ३ करोड रुपैयाँको लागतमा लिफ्टिङ सिस्टम खानेपानी योजना ल्याएका थिए ।

योजना सम्पन्न भई खानेपानी उपभोग गर्न थालिए पनि औपचारिक रुपमा उद्घाटन भई नसकेको अध्यक्ष ज्ञवालीले बताए । उक्त योजना सम्पन्न हुनु अघि बलेटक्सार बजारबासीले  ट्याक्टरमा बोकिएको पानी  दुुई रुपैयाँ लिटरको दरले किनेर खान बाध्य हुन्थे ।

श्रोत: रातोपाटी

तपाईको प्रतिक्रिया दिनुहोस्