सरकारको ढुकुटी संकटमा ! कति सत्य?

सरकारी ढुकुटी संकटमा परेको भन्दै कतिपय सरकारी अधिकारी तथा विज्ञहरूले चिन्ता व्यक्त गर्ने गरेका छन्। तर, सरकारी ढुकुटीको बुधबारसम्मको तथ्यांकले भने त्यस्तो संकेत गर्दैन।

बुधबार मध्याह्नसम्म सरकारी ढुकुटीमा ७२ अर्ब रुपैयाँ खर्च गर्न सकिने अवस्थामा रहेको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको खबर आजको नयाँ पत्रिका दैनिकमा जर्नादन बरालले लेखेका छन्। ‘बुधबार दिउँसोसम्म सरकारले कुल ४ सय ३९ अर्ब रुपैयाँ आम्दानी गरेको छ भने ३ सय ६८ अर्ब रुपैयाँ खर्च गरेको छ,’ महालेखा नियन्त्रक कार्यालयका उपमहालेखानियन्त्रक यदुनाथ भट्टराईले जानकारी दिए।

सरकारी ढुकुटीमा ३ सय २८ अर्ब
महालेखा नियन्त्रक कार्यालयका अनुसार हाल सरकारी ढुकुटीमा कुल ३ खर्ब २८ अर्ब रुपैयाँ रहेको छ। तर, त्यो सबै रकम खर्च गर्न सकिने भने होइन। ‘सरकारी ढुकटीमा रहेको रकममध्ये अधिकांश रकम विभिन्न कोष, धरौटीलगायतको रहेको छ,’ अर्थ मन्त्रालयका सहसचिव केवलप्रसाद भण्डारीले भने, ‘यो वर्षको बजेटमार्फत उठेको रकम मात्रै हामीले खर्च गर्न पाउँछौँ।’ यद्यपि, सरकारी कोषमा ठूलो रकम हुँदा सरकारले ओभरड्राफ्ट उठाउनुपर्ने बाध्यता भने नभएको उनले बताए। ‘तत्काल चेक नै काट्न नसकिने अवस्था भने छैन,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्