fbpx

शेखर विकल्पको कविता : छाता

छाता

– शेखर विकल्प

कहिले पहाडले वादल ओढि बस्छ
कहिले रूख हिउँले ढाकिएर बस्छ
कहिले पखेराले कुहिरोको बर्को ओढीदिन्छ
कहिले ईन्द्रेणी नदीको तन्नामा न्यानो मानी सुत्छ

कहिले प्रकृती घाम ओढेर उराठ बन्छ
कहिले कान्ला वेमौसमी झरी सहेर सिकसिको बन्छ
कहिले देउरालीले बेप्रवाह हुरी उनेर बस्छ
कहिले यो मन त्यहि खुसीलाई आफ्नो मानेर रम्छ त्यहि प्रकृतिमा

तर
मान्छे रम्नलाई आँगन चाहिन्छ
आँगन हुनलाई घर चाहिने रहेछ
घर त तब मात्रै हुन्छ जब देश हुन्छ

कहिले कांही मनलाई घाम मन पर्दैन
कहिले कांही झरी झन् पटक्कै मन पर्दैन
कहिले हुरी दुस्मन बन्छ
र कहिले हिउँ पराइ लाग्छ

केहि कुरा मन नपरे पछि
त्यसबाट आफू बच्न खोजिंदो रहेछ
त्यसैले
कहिले कान्लामा उफ्रिन पुगिन्छ
कहिले कन्दरामा लुक्ने चाहना हुन्छ
कहिले ओतको छहारी खोजिन्छ

हुरी र हिउँबाट बच्न म संग घरको छानो थियो
घाम र झरीमा बच्न म संग छाता थियो


मैले ओढ्ने छाताले
पानी छेकेकै थियो
घाम रोकेकै थियो

तर,
मेरो देशले ओढेको छाताले
मेरो गरिबी ओत्न सकेन
त्यसैले म परदेश छिरेको हुं !

तपाईको प्रतिक्रिया दिनुहोस्