विवेकशील साझा फुटाउने त्यो ‘इमेल’

पार्टीमा अन्योल देखियो भनी हामी केही केन्द्रीय सदस्य केन्द्रीय कार्यालयमा भेला भयौँ, पुस २४ गते । संयोजक उज्ज्वल थापाले पार्टी गलत दिशामा गइरहेको छ भन्ने समीक्षासहित १८ पन्ने प्रतिवेदन सदस्यपंक्तिमा १६ गते नै प्रस्तुत गरिसकेका थिए । आपत्कालीन बैठक बोलाइएको थिएन । पार्टीलाई अब अभियानमुखी बनाउने अनि आउँदो बैठकमा अन्योल चिर्ने निष्कर्षसहित हामी उठ्यौँ । त्यही राति पुस ३० गते बैठक बोलाइएको जानकारी गराउने इमेल आयो । एजेन्डा थिए– पा“चजना केन्द्रीय सदस्य थप्ने, प्रदेश १ को संयोजक चयन, पार्टीमा युवा अनि महिला संगठन निर्माण गर्ने अनि पार्टीका बाह्रैवटा विभाग भंग गर्ने । दोस्रो खण्डमा, पछिल्लो घटनाक्रमको छलफल अनि पार्टीको वार्षिक समीक्षा गर्ने भन्ने पुच्छर जोडिएको थियो । एजेन्डाको प्राथमिकता प्राकृतिक थिएनन् ।

हामी धेरै साथीले आउँदो बैठकमा अर्का संयोजक थापाको प्रतिवेदनलाई एकल एजेन्डा बनाएर छलफल गरौँ भनेर इमेलमा, फोनमा, पार्टीको सुशासन हेर्ने स्वायत्त न्याय तथा सुशासन आयोगमा बारम्बार अनुरोध ग-यौँ । हामी थापाका पक्षमा थिएनौँ । प्रतिवेदन सुनुवाइ हुने छाँट देखिएन । अबको पार्टीको राजनीति कसरी अगाडि बढ्छ, इमेलको सन्देश स्पष्ट थियो । घटना हुनु करिब एक महिनाअघि तत्कालीन विवेकशील नेपालीबाट आएका साथीलाई थापाले छलफलका निम्ति बोलाएका थिए, पार्टी एकीकरणपछि पहिलोपटक । पार्टी गलत दिशातिर गइरहेको हो कि भन्ने लाग्न थालेको भन्दै समीक्षाको आवश्यकता औँल्याएका थिए । अधिकांश साथीले सक्रियता बढाउनुपर्ने, विचार र मतका लागि आन्तरिक संघर्ष गर्नुपर्ने र अन्ततः विवेकशील साझालाई नै अघि बढाउनुपर्ने धारणा राखेका थिए । चारजनाले मात्र यसरी यो पार्टीले वैकल्पिक राजनीति गर्न नसक्ने बताएका थिए । बाँकीले, झन् समय दिएर योगदान गर्ने अनि पार्टीलाई नयाँ दिशा दिने स्पष्ट पारेका थिए । 

एकीकरणको आधार
साउन ११, २०७४ मा बराबरी हैसियतमा एकीकरणको सम्झौता गरेर पार्टी बनेको थियो, विवेकशील साझा । त्यही सालको सुरुमा काठमाडौंको मेयरमा रन्जु दर्शनाले ल्याएको साढे २३ हजार अनि किशोर थापाले ल्याएको १८ हजार मतले यो अवस्था सिर्जना गरेको थियो । राजनीतिमा जोस र होसको सम्मिश्रण आवश्यक छ भन्ने बुझाइले दुई पार्टीलाई एक ठाउँमा ल्याएको थियो । दुवै पार्टीको स्वार्थ पनि थियो– आसन्न प्रदेश सभा अनि प्रतिनिधिसभामा राम्रो नतिजा ल्याउनु । विवेकशील नेपाली विगत पाँच वर्षदेखि राजनीतिमा थियो भने साझा पाँच महिनादेखि । साझासँग केही चिनिएका अनुहार थिए, विवेकशीलमा आशलाग्दा अनुहार । सिद्धान्त धेरै मिलेका थिए । तर, काम गर्दै जा“दा बुझाइ अनि गराइमा फरक देखियो । 

फुटको कारण
एक पक्षको मात्र कमजोरीले पार्टी फुटेको होइन । पार्टीमा केही राजनीतिक कमजोरी थिए त केही व्यावहारिक । केही सुधार्न सकिने कमजोरी थिए त केही सुधार्नै नसकिने । केही नियतकै प्रश्न पनि थिए । नेताहरूको विचार अनि स्वार्थ आआफ्नै थियो । पार्टी फुटका निम्ति निम्न केही कारण प्रमुख छन् :

१. राजनीतिको बुझाइ 
फरक पृष्ठभूमिबाट आएकाहरू नेतृत्वमा थिए । फरक–फरक पुस्ताको नेतृत्व सँगै थियो । वैकल्पिक राजनीतिको मेरुदण्ड सिद्धान्त हो वा मूल्य–मान्यता ? पार्टी अभियानमुखी हुने वा सांगठनिक हुने ? केन्द्रीकृत नेतृत्व कि सामूहिक ? मूलभूत फरक बुझाइमा यस्तै भिन्नता थियो । यी बुझाइबीच मध्यमार्ग खोज्न सकिएन । १७ महिनामा प्रमुख नेताहरूले पुराना कुरा बिर्सेर नया“ कुरा सिक्न आफूलाई ‘अनलर्न’ गर्न सकेनन् । एउटा पक्षलाई पार्टी परम्परागत राजनीतितिर मोडियो भन्ने भान पर्ने अनि अर्को पक्षलाई चाहिँ क्लब नै पो बनाउन लागे कि भन्ने डर । एउटा पक्ष झन्डै ‘जनवादी केन्द्रीयता’को सोचबाट ग्रसित थियो भने अर्को पक्ष उदार र खुला सोचमा रमाउने खालको । त्यो खुला र उदार भावना संगठन ठुलो बन्दै गर्दा कायम राख्न सकिन्थ्यो वा सकिन्नथ्यो, प्रश्न त्यहाँ पनि थियो ।

बहस सुसंस्कृत राजनीति गर्न वैकल्पिक संगठनले मात्र सक्छ कि वैकल्पिक राजनीति नै चाहिन्छ भन्ने थियो । ठूलो संगठन भएका पार्टी त अहिले नै छन्, उनीहरू विस्थापित गर्न झन् ठूलो संगठन बनाउने वा पृथक् ढाँचा अपनाउने भन्नेमा बहस राम्ररी हुन पाएन । त्यो पृथक् संगठनको मोडेल के हुन्छ, पृथक् संगठन भन्ने पक्षले बुझाउन सकेको थिएन । समाज यस्तै हो भनेर त्यहीअनुरूपको दल बनाउने कि समाज बदल्ने ल्याकत राख्न सक्ने दल बनाउने भन्ने बहस पनि चुलिँदै थियो । समाज बदल्ने दल परिकल्पना मात्र हो कि व्यावहारिक पनि छ ? पर्याप्त छलफल भएन । संगठन बन्दा ‘आदर्शवादी’ मोडेलबाटै निर्माण हुन्छ । आकार र चुनौती बढेस“गै त्यसमा स्खलन आउ“दै जाने हो । त्यसलाई रोक्न के गर्ने ? वा सुरुमै सम्झौता गर्न तयार भएर निर्माण गर्न खोजिएको दल कस्तो बन्ला ? अर्को पक्षको चिन्ता नाजायज थिएन ।

यसैवेला केही अन्य दलबाट आएका नेताहरूले मूल्य–मान्यता गहना हो (लगाउ“दा पनि हुने, नलगाए पनि खासै केही नबिग्रने ) भनेर प्रशिक्षण दिन थालेपछि, परम्परागत राजनीतिको गन्ध आउन थालेको महसुस भएको थियो । केही नया“ कुरा ग-यो भने युवाहरूलाई ‘पोलिटिकल मेटेरियल’ होइन भन्दिने, अनि युवाहरूलाई चाहि“ अर्को पक्षको सोच परम्परागत लाग्ने चेपुवामा विवेकशील साझा प-यो । विवेकशीलबाट आएकाले संगठनमा अपनत्व महसुस गर्न सकिरहेका थिएनन् । झन्, केन्द्रीय बैठकमै राखेको फरक मतमाथि प्रतिक्रियामा ‘तिमीहरूले राजनीति बुझेकै छैनौ’, ‘तिमीहरूको हैसियत छैन’ भनिरह“दा पार्टीमा समानता अनि सामूहिक भाव विकास हुन सकेको थिएन । 

एक पक्षको मात्र कमजोरीले पार्टी फुटेको होइन । पार्टीमा केही राजनीतिक कमजोरी थिए त केही व्यावहारिक । केही सुधार्न सकिने कमजोरी थिए त केही सुधार्नै नसकिने । केही नियतकै प्रश्न पनि थिए । नेताहरूका विचार अनि स्वार्थ आ–आफ्नै थियो ।

२. व्यक्ति ‘भर्सेस’ संस्था 
सामूहिकभन्दा व्यक्तिगत नेतृत्वमा जोड दिन थालियो । जसले विवेकशील साझा व्यक्तिवादी संगठन त बन्दै छैन भन्ने शंका उब्जियो । नेतृत्वले केन्द्रीय नेताहरूलाई नै निर्णय प्रक्रियामा सहभागी गराउन नसक्दा केन्द्रीय सदस्यहरू नै असन्तुष्ट थिए । व्यक्ति अगाडि सारेर बनाएको संगठन छिटो त बन्ला, तर त्यसले देशले खोजेको दसौँ हजार नेतृत्व निर्माण हुन सक्दैन भन्ने बुझाइले पनि नेतृत्व मोडेलले नै बहस खोजेको थियो । काठमाडौं १ मा गोविन्दनारायण उठ्ने तयारी थियो, संयोजक रवीन्द्र मिश्र नै उठे । तैपनि परिस्थिति पूर्ण उत्साहजनक हुन सकेन । केही नेता, कार्यकर्ता सांगठनिक हिसाबले पूर्ण परिचालित भएनन् । एकीकरण सम्झौताअनुरूप सम्पूर्ण समिति भंग गरिएका थिए । असन्तुष्टि चुलिँदै गयो । बिस्तारै, त्यो असन्तुष्टि केन्द्रबाट तलसम्म देखियो । अर्को पक्षलाई यही कारणले संगठन निर्माणमा केही व्यक्तिहरूले भाँजो हालेको भ्रम पर्न थाल्यो ।

त्यस्तै प्रदेश ३ कै संयोजक तोक्दा विवाद देखियो । केन्द्रीय सदस्य नै नेतृत्व लिन तयार रहँदा पनि शीर्ष नेतृत्वबाट उनलाई रोक्न खोजिएको स्पष्टै थियो । केही नेतामा पार्टीभन्दा मेरो व्यक्तित्व ठूलो छ भन्ने बुझाइका कारण पनि संगठन ओझेलमा पर्ने डर थियो । प्रमुख जिम्मेवारी केही सीमित व्यक्तिले नै निभाउनुपर्छ भन्ने नेतृत्वको बुझाइले कसैले कम जिम्मेवारी पाउने, कसैले खातैखात जिम्मेवारी पाउन थाले । फलस्वरूप, नतिजामुखी काम हुन सकिरहेको थिएन । कोही काम गरिरहेजस्तो र कोही गुनासो मात्र गरिरहेजस्तो देखियो । अन्तिम चरणमा पार्टीकै विवाद मिलाउन बनाएको वैकल्पिक राजनीतिक कार्यदलको ३ महिनामा एउटा पनि आधिकारिक बैठक बस्न पाएन ।

३. व्यक्तिगत स्वभाव
पार्टी फुट्नुमा विचार अनि व्यक्तिको स्वभावको भूमिका पनि छ । गत निर्वाचनमा काठमाडौं १ को उम्मेदवारी अनि समानुपातिकको उम्मेदवारीमा प्रारम्भिक मतभेद देखियो । संयोजक थापा काठमाडाैं ५ बाट उठेका थिए, संयोजक मिश्र काठमाडौं १ बाट । मिश्रले आफ्नो क्षेत्रबाहिर पनि सक्दो समय दिएका थिए, थापा ५ बाट खासै बाहिर निस्किएनन् । निर्वाचन अभियानमा विवेकशील साझा, विवेकशील र साझामै छुट्टिएको देखियो । राष्ट्रिय सभामा राधेश्याम अधिकारीलाई संयोजन समितिको एकमतले गरेको समर्थनबाट गोविन्द नारायण पछि हटे, थापा मौन रहेपछि नेतृत्वको निर्णय क्षमतामै प्रश्न उब्जियो । नारायणले पछि विरोध गर्दा पार्टीमा ध्रुवीकरण बढायो । नारायणको संयोजन समितिबाट राजीनामाले ‘बराबरको हैसियत’मा भएको पार्टी एकीकरणको मर्म भत्कियो । विवेकशील पक्षबाटै संयोजन समितिमा नलगी नयाँ शक्तिबाट आएका केशव दाहाललाई सीधै संयोजन समितिमा ल्याउँदा सन्तुलन खल्बलियो । दाहाललाई सीधै संयोजन समितिमा किन लानुप-यो भनेर संयोजक थापालगायत धेरै केन्द्रीय सदस्यले प्रश्न उठाएका थिए । दाहाल नया“ शक्तिको दोस्रो नम्बरका नेता हुन्, उनलाई ल्याए नयाँ शक्तिलाई धक्का लाग्ने तर्क बैठकमा राखियो ।

कहिले कांग्रेसमा हस्तक्षेप त कहिले नया“ शक्तिमा हस्तक्षेपका कुरा, हामी पुरानै खेलमा लाग्न थालेको भान हुन थालेको थियो । साथै, संयोजन समितिले नारायणलगायत नेताको व्यवस्थापन गर्न नसक्दा पनि तराजु ढल्किएको थियो । थापाको स्वभावले गर्दा पनि धेरै अन्योल पैदा भयो । प्रायः मौन रहने थापाले एक वर्ष निर्णायक भूमिका खेल्न नसक्दा, एउटा पक्ष हाबी भयो । केही नेतामा बौद्धिक हुँ भन्ने हठले पनि सामूहिक नेतृत्व विकास हुन सकेन । समस्या व्यक्ति–व्यक्तिमा थिए । कोही च्याटबक्समा नेतालाई काम अह्राएर बस्थे । कोही ‘राजनीति मैले मात्र बुझेको छु’ भनेर प्रत्येक बैठकमा पढाउन आउँथे । संस्कृतमा ‘श्री गणेशाय नमः’ बाट विषय सुरु गरेझैँ कोहीचाहिँ कुराकानी ‘राजनीतिमा यस्तो हुन्छ’ बाट सुरु गर्थे । उनै नेता आफूले नेतृत्व गरेको विभागको बैठक बोलाउनुहोस् न भनेर अनुरोध गर्दा ‘बैठक त आफूलाई अनुकूल हुने गरी बोलाउने हो, बैठक बोलाउनु पनि राजनीति हो, नबोलाउनु पनि राजनीति हो’ भन्थे । केही साथीले राजनीति धेरै बुझेर र केही साथीले राजनीति कम बुझेर पार्टी फुट्यो ।

४. प्रभावकारी सञ्चारको अभाव 
मिडिया पृष्ठभूमिका अनि लेखक धेरै भएको पार्टीमा सञ्चारको समस्या चर्को थियो । एक–अर्कालाई बुझाउन नसक्नु पार्टी फुटको कारण बन्यो । अर्थपूर्ण संवाद निकै कम हुन्थ्यो । दुई–तीन महिनायता थापाले संयोजन समितिका साथीहरूसँग निकै कम संवाद गरे । उनले गैरराजनीतिक चरित्र नै देखाए । अर्का संयोजक मिश्रले संवाद त गरे, समाधानतिर मोड्न सकेनन् । ऊर्जा अनि अनुभवलाई सन्तुलन गर्न सकेनन् । कतिपय केन्द्रीय सदस्यले अरूले गरेको काममा गल्ती खोज्ने र प्रश्नै मात्र गरेर जिम्मेवारी निभाए । कोही भोट हाल्ने दिन मात्र आउँथे । कतिपय साथीले पार्टी निर्माणमा असहयोग नै गरेको महसुस भयो । योगदानको मात्रा मिल्न नसक्नु पनि समस्या बनेर आयो । बाहिर बोलेको कुरा पार्टीमा लागू गरिएको थिएन ।

अन्तर्वार्तामा केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने योजना सुनाइयो, व्यवहारमा समितिको निर्णय सदस्यहरूमा सम्प्रेषण गर्नसमेत कन्जुस्याइँ हुन्थ्यो । एक–अर्काको सबल पक्षभन्दा कमजोरी केलाइयो । राजनीतिक एकीकरण भावनात्मक एकीकरणमा परिणत हुन सकेन । केन्द्रीय सदस्यहरूले फरक–फरक सन्देश तल पंक्तिमा सम्प्रेषण गर्दा सधैँ भ्रम सिर्जना हुन्थ्यो । केही नजानेर गरिँदै थियो, केही जानेरै । प्रदेश ३ को पहिलो चरणका जिल्ला संयोजक मनोनीत हु“दा केन्द्रीय सदस्यलाई नै जानकारी दिइएन । अन्तिमचोटि गठित युवा संगठन अनि महिला संगठन निर्माण हुँदासमेत करिब डेढ वर्ष यो विषयमा कुनै पनि आधिकारिक छलफल भएको थिएन । उक्त कुराको छलफल न केन्द्रीय समिति, न संगठन विभागमा भएको थियो । यस्ता निर्णयले अपनत्व महसुस हुने कुरा थिएन । केही नेताको बुझाइले पार्टी चलेको थियो ।

५. विश्वासको खडेरी
नेताहरूमा संगठन यसरी बनाउने भनेर आआफ्नै विश्वास थियो । एकीकरण हुँदा दुवै पक्षको आइडिया न सफल थियो, न असफल नै । दुवै पक्षले एकअर्काको आइडियामा विश्वास गर्न सकेनन् । विवेकशील नेपालीले एकीकरणअघि पाँच वर्षमा हासिल गरेका उपलब्धि र खाएका धक्काहरूको वस्तुनिष्ठ विश्लेषण गरी पाठ सिक्ने कुरामा साझाका साथीहरूको कुनै रुचि थिएन । जब–जब विवेकशीलको इतिहासको कुरा आउँथ्यो, साझाका साथीहरूको अनुहारमा एक प्रकारको ‘इरिटेसन’ देखिन्थ्यो । विवेकशीलका साथीहरूले पनि साझाका साथीहरूको अनुभवलाई आत्मसात् गरेको देखिँदैनथ्यो । केन्द्रीय समितिमा निर्णय भएकै विषयले पनि प्राथमिकता पाएनन् । प्रत्येक केन्द्रीय समितिको बैठक राष्ट्रिय मुद्दाको बहसबाट सुरु गर्ने सहमति केन्द्रीय समितिबाट धेरै अघि पारित भएको एजेन्डा कहिल्यै लागू भएन । लागू नहुनुमा संयोजन समितिकै आठजनाको कमजोरी थियो । संयोजकको हैसियतमा मिश्र अनि थापा बढी जिम्मेवार थिए । 

विवेकशीलका साथीहरूलाई समयको धेरै चाप थिएन भने साझाका साथीहरूलाई उमेरको हिसाबले पनि अलि हतारो देखिन्थ्यो । छिटो गरौँ भन्ने स्वाभाविक महत्वाकांक्षा थियो । रवीन्द्र मिश्र, सूर्यराज आचार्यहरूले धेरै समय योगदान गर्थे भने व्यावसायिक करिअरसँगै राजनीति अघि बढाइरहेका विवेकशीलका युवा साथीहरूलाई समय व्यवस्थापन गाह्रो देखिन्थ्यो । उनीहरू युवालाई ल्याउने हो भने, ‘पार्ट टाइम’ राजनीति पनि व्यवस्थापन गर्न सक्नुपर्छ भन्थे । ‘वर्क हार्ड होइन, वर्क स्मार्ट’को रणनीति अपनाउनुपर्छ भन्थे । ८३ प्रतिशत नेपाली ४५ वर्षमुनिको जनसंख्या रहेको देशमा यो व्यवस्थापनको प्रश्न फेरि नाजायज थिएन । 
 

त्यो इमेल 
पार्टीको कमी–कमजोरीबारे बारम्बार संयोजकद्वयलाई अवगत गराइयो । केन्द्रीय समितिमै कमजोरीबारे विचार राखियो । समाधान केन्द्रीय समितिस“ग थियो वा थिएन, थाहा छैन । तर, फरक–फरक कार्यशैलीले संगठन अघि बढाउन सम्भव देखिएको थिएन । दुवै पक्षको अडानले, हार–हारको अवस्था थियो । यो विछोडले जित–जितको वातावरण भने बनाएको छ । सकारात्मक प्रतिस्पर्धाले समाजलाई फाइदै पु-याउला पनि । दुवैतिर नेतृत्व जन्मिएलान्, निखारिएलान् पनि । तर पनि वैकल्पिक राजनीतिको यो यात्रा सहज भने दुवै पक्षलाई छैन । यो घटना, बिपी र महेन्द्र मिलेको भए केही हुन्थ्यो कि, गिरिजा अनि कृष्णप्रसाद मिलेको भए कांग्रेसमा केही हुन्थ्यो कि, वा रन्जु र किशोर थापा मिलेर उठेको भए केही हुन्थ्यो कि भन्ने खालको इतिहास बन्न नपरोस् भन्ने प्रार्थना भने पक्कै छ ।

पुराना विवेकशीलका साथीहरूले संगठन निर्माणलाई प्राथमिकतामा राखेनन्, केही साथीहरूले चुनावमा असहयोग गरे, एक केन्द्रीय सदस्यले त व्यक्तिगत रूपमा केही नेताहरूलाई च्याटबक्समा गाली–गलोज नै गरेर असहज परिस्थिति सिर्जना गरेका थिए । संयोजक थापाले अर्का संयोजक मिश्रसँग महिनौँ फोनमा धरी संवाद गरेनन् । अर्कोतर्फ साझाका साथीहरूले अभियानलाई प्राथमिकता दिन सकेनन् । पा“चवर्षे वैकल्पिक राजनीति गरेर, लोकमानलाई सीधा ललकारेर, भूकम्पपछि हजारौँ स्वयंसेवक परिचालन गरेर आएका युवाहरूलाई ‘तिमीहरूको हैसियत छैन’ भन्ने भाव दिइन्थ्यो । प्रशस्त गल्तीहरू दुवै पक्षका थिए । तर अन्तिम, इमेलमा आएको सन्देशले नियतमै प्रश्न उठायो, अनि निषेधको राजनीति हाबी भएको प्रमाणित गरिदियो । पार्टी कार्यालयमा २४ गते बसेको संयोजन समितिको बैठकले स्पष्ट सन्देश दिएकै थियो– ‘बराबरी हैसियत’को सम्झौतापत्रमा बनेको पार्टी, त्यही पत्रकै आधारको संयोजन समिति अनि संयोजकहरू ।

तर, एउटा पक्ष पूरै अनुपस्थित रह“दा पनि १७ महिने पार्टी जीवनमा घटेको सबैभन्दा महत्वपूर्ण अनि दूरगामी निर्णयहरू गरियो । विनाकुनै छलफल अनि विनाकुनै समाधानमुखी आधार पार्टी, संयोजन समितिमा त्यो दिन उपस्थित हुने साथीहरूले अघोषित रूपमा त्यही दिन पार्टी, पार्टी कार्यालयमै फुटाए । 

इमेल राति १० बजेर २० मिनेट जाँदा प्राप्त भयो । २७ गते विवेकशीलका साथीहरू ३० गतेको बैठक रोक्न निर्वाचन आयोग गए । तर, बैठक रोक्न मिल्ने त्यस्तो कुनै प्रावधान नरहेको जानकारी आयुक्तहरूबाट पाएपछि साथीहरूले एकीकरण हुँदा लिएर गएको विवेकशीलको नासो, जसको वीजारोपण २०६९ सालमा नै भएको थियो, बचाउन सकिन्छ कि भनेर प्रयास गरे । यदि ३० गते बैठक हुन्थ्यो भने ६ जना केन्द्रीय सदस्य थपिन्थे र सबै सदस्य संगठित भएर निस्कन ४० प्रतिशत पुग्दैनथ्यो । त्यहीअनुरूप एक्कासि एक नम्बरमै ६ जना केन्द्रीय सदस्य थप्ने एजेन्डा आएको कसले नबुझ्ला र ? नत्र अर्का संयोजकले पार्टी छाड्ने मनस्थितिमा रहेको कुरा थाहा हुँदाहुँदै, केन्द्रीय सदस्य थप्ने प्राथमिकता किन ?

संयोजन समितिको बैठकमा आठजनामध्ये, त्यो दिन उपस्थित पाँचजना रवीन्द्र मिश्र, सूर्यराज आचार्य, मुमाराम खनाल, निरुपमा यादव अनि केशव दाहालमध्ये जसले उज्ज्वल थापाको समीक्षा प्रतिवेदनमा छलफल नगरी पेलेरै जानुपर्छ भनेर सिकायो, जसले कुनै नियम, सम्झौता र विधानमा नभए पनि रवीन्द्र मिश्रलाई एकपक्षीय ढंगले बैठक आह्वान गर्न उक्साए, उसले सुनियोजित हिसाबबाट पार्टी फुटायो । यो देशका लागि विगत ६ वर्षदेखि विवेकशील नेपालीमार्फत वैकल्पिक राजनीतिका लागि दिनरात खट्ने युवालाई त्यसरी भित्तामै पुग्ने गरी राजनीति सिकाउनुपर्ने राजनीति गर्ने त्यो बैठकमा उपस्थित केही सदस्यले परम्परागत राजनीतिकै शैलीमा पार्टी फुटाए । डा. सरोज धिताल, डा. दिनेश प्रसाईं, रेशु अर्याल अनि ओम अर्यालले नेतृत्वले वैकल्पिक राजनीति गर्न नसकेको औँल्याएर पहिल्यै पार्टी छाडिसकेका थिए । ३५ जनाबाट सुरु भएको विवेकशील साझाको यात्रा १६ जनाले नयाँ पार्टी गठन गरेर अनि ४ जनाले पार्टी छाडेर अघि बढ्दै छ । वैकल्पिक राजनीतिको यात्रा जारी छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्