टुटलको भ्याटबारे आन्तरिक राजश्वले थाल्यो छानबिन

गल्ती भेटिए जरिवाना तिर्न तयार छौं : टुटलका सिइओ

राइड सेयरिङ कम्पनी टुटलले मूल्य अभिवृद्धि कर (भ्याट) दर्ता नभई उपभोक्ताबाट कर उठाएको बारे आन्तरिक राजश्व विभागले छानबिन  थालेको छ। भ्याटमा दर्ता नभइकनै टुटलले उपभोक्ताबाट त्यही शीर्षकमा रकम उठाएको पाइएपछि छानबिन थालेको विभागले जानकारी दिएको छ।

‘एउटा कम्पनीले दर्ता नभई भ्याट उठाएको भन्ने खबर आएपछि हामीले कर कार्यालयलाई त्यसबारे छानबिन गर्न निर्देशन दिएका छौं’ विभागका प्रवक्ता यज्ञ ढुगेलले सेतोपाटीसँग भने।

दर्ता नभई भ्याट उठाएको पाइए उक्त कम्पनीमाथि कर निर्धारण हुने छ। त्यसरी निर्धारण भएको करमाथि जरिवाना पनि जोडेर पैसा असुल गरिने ढुंगेलले बताए।

कम्पनीले झन्डै डेढ वर्षदेखि उपभोक्ताबाट भ्याट शीर्षकमा रकम उठाए पनि  कर कार्यालयबाट भने स्थायी लेखा नम्बरमात्र लिएको छ।

टुटलका प्रमुख कार्यकारी अधिकृत शिक्षित भट्टले भ्याट छल्न नचाहेको तर भुलबस यस्तो देखिन पुगेको दाबी गरे।

‘एप बनाउँदा भ्याट शीर्षक राखेका थियौं तर पछि अडिट गर्दा हामी भ्याटको थ्रेसहोल्डभित्रै पर्दो रहेनछौं, त्यही भएर हटाइसक्यौ’ उनले भने ‘हामीबाट केही कमजोरी भयो तर जानाजान गरेको गल्ती होइन।’

अहिलेसम्म भ्याट छल्नुपर्ने जस्तो आम्दानी नभएको उनको जिकिर छ।

‘हामीले भ्याट भन्ने शीर्षक २०१७ जनावरी देखि २०१८ को जुलाईसम्म राखेका थियौं। सुरूआती दिनमा हाम्रो दैनिक १०–१५ वटामात्रै राइड हुन्थ्यो, त्यसमा कति भ्याट छल्यौं होला र ?,’ उनले भने ‘यदि हाम्रो त्यो गल्तीको कारण जरिवाना तिर्न परे तयार छौं।’

पुस २९ गते महानगरीय ट्राफिक प्रहरी महाशाखाले ४ जना टुटल चालकलाई कारबाही गरेपछि टुटलबारे सार्वजनिक चासो बढेको थियो। अधिकांशले नयाँ प्रविधि प्रयोग गरिएको व्यवसायले सजिलो भएको भन्दै कानुन नभए कानुन संशोधन गर्नु पर्ने तर टुटललाई बन्द गर्न नहुने तर्क गरेका थिए।

केही दिनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नै टुटल र पठाओजस्ता  कम्पनीको सेवा नरोक्न निर्देशन दिएका थिए।

प्रहरी कारबाहीपछि व्यापक समर्थन पाएको टुटलले उपभोक्ताबाट भ्याट उठाएको तर सरकारलाई नबुझाएको समाचार नागरिक दैनिकले बुधबार प्रकाशित गरेको थियो।   

तपाईको प्रतिक्रिया दिनुहोस्