अर्गली कुसेनिमा बाघले धपाउन थाल्यो बाँदर।

रिडि,माघ १०, अनिता घिमिरे। बाँदरले गाउँघरमा किसानलाई दुख दिनेगरेको समाचार त हामीले सुन्ने गरेका छौ । बाँदर धपाउन नसकेर खेती गर्न नै छाडेका अर्गली कुसेनिका स्थानीयले बाँदर धपाउन अनौठो तरिका अपनाएका छन् । जगंल र मठमन्दिरमा रमाउने बाँदरले पछिल्ला वर्षहरुमा गाउघरमा जाने खेतवारीमा लगाएको अन्नवाली खाइदिएर हैरान पार्न थालेपछि बाँदर धपाउन वाघको प्रयोग गर्न थालिएको हो । तर बाघ भने नक्कली अर्थात् बजारबाट २५ सयमा किनेर लगिएको गुडिया बाघ हो ।

सामन्यतः घरमा, गाडीमा सजावटका लागि प्रयोग गरिने (गुडिया) नक्कली बाघ पाल्पाको तानसेन नगरपालिका १४, कुसेनीमा बाँदर धपाउनका लागि प्रयोग गर्न थालिएको हो । स्थानीय माझघरे कान्छादाई भनेर चिनिने कविराज ज्ञवालीले बाघ देखेपछि बाँदर डराएर भाग्छन भन्ने कुरा सुनेपछि बजारबाट नक्कली(गुडिया) बाघ किनेर ल्याएको जानकारी दिनुभयो ।

बारीमा लगरे नक्कली बाघलाई राखेपछि बाँदर भाग्ने र केही दिनका लागि त्यस ठाउँ बरिपरि बाँदर नआउने ज्ञवालीको भनाई छ । ज्ञवालीले घरमा नै गुडिया बाघलाई राख्ने र बाँदर आएको थाहा पाएमा बोरामा राखेर बाँदरले नदेख्ने गरी बारीमा लगेर राखिदिने गर्नुभएको छ ।

यसरी बाँदर धपाउन थालेपछि केही बर्ष खेतबारीमा खेती गर्न छाडेका अन्य स्थानीयले पनि मौषम अनुसारका खेतीबाली लगाउन थालेका छन् । गाउँका अन्य स्थानीय भने माझ घरे कान्छा दाइको बाँदर धपाउने तरिकाप्रति दंग एवं खुशी बनेका छन् । बाँदरको त्रासबाट केही मात्रामा भएपछि छुटकारा पाएकोमा स्थानीय खुशी बनेका हुन् ।

स्थानीयले बाँदरबाट हैरानी खेपेपछि स्थानीय सरकारलाई समेत गुहारेका छन् । किसानले नै वडा कार्यालयमा निवेदन दिएको तानेसेन नगरपालिका वडा नंं. १४ का अध्यक्ष कमल थापाको भनाई छ । किसानको माग बमोजिम नगरपालिकाले बाँदर नियन्त्रणका लागि ६ लाख बजेट समेत विनियोजन गरिएको र के कसरी नियन्त्रण गर्ने भन्नेबारेमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो नक्कली बाघ देखाएर मात्र कति समयलाई बाँदर भाग्लान् भन्ने कुरा भने सोचनीय छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्