fbpx

गाउँ भित्रिएको प्रविधिले किसान उत्साहित

टोपलाल अर्याल
गुल्मी, ९ बैशाख सत्यवती गाउँपालिका १ को चौरमा फाँटमा गहुँ पाक्यो । छविकला पाण्डेलाई गहुँ भित्राउन लहै–लहै छ । अहिले खेतला खोज्न गाउँ चहार्नु पर्दैन् । फोन गर्ने बित्तिकै थ्रेसर आँगनमा आउँछ । दुई मुरी गहँु २० मिनेटमा चट ।

न खेतला खोज्ने झन्झट नत उनीहरुकै स्याहारसुसार । आधुनिक प्रविधीले कामलाई सजिलो बनाएको छ । गत बर्षदेखि गाउँमा भित्रिएको थ्रेसरले अस्लेवा चौरका किसानलाई खुवै सजिलो बनाएको छ । ‘घरमा काम गर्ने कोहि छैनन, मेसिनले सजिलो बनाएको छ,’उनले भनिन,‘पहिले खेतला खोज्नै मुस्किल पथ्र्यो ।’ अघिल्लो बर्षदेखि सत्यवती गाउँपालिका १ अस्लेवाको चौर फाटँमा गहुँ, धान, केराउ, मसुरो, चना छाट्ने थ्रेसर मेसिन भित्रिएको छ । जसका कारण पाण्डेजस्तै थुप्रै किसानहरुलाई काम गर्न सजिलो भएको छ ।

अस्लेवाकै धातानन्द पाण्डेयलाई पहिले गहुँ स्याहार्न एक हप्ता लाग्थ्यो । अहिले एक दिन काटेपछि २० मिनेटमा गहुँ पोको पार्छन । पाण्डेले मजदुर नपाउने समस्या अन्त्य हुनुका साथै थोरै समयमा धेरै काम गर्न सकिने भएकाले थ्रेसर मार्फत काम गर्ने गरेको बताए । उनले मिनि टेलर र ठुला ट्याक्टर मार्फत खेतबारी जोत्छन् । जसका कारण गाउँमा कसैका गोरु कुर्नु पर्दैन् । दुई तीन दिन लगाएर जोत्न खेतबारी एक घण्टामै सकिन्छ । गाउँमा एक दिन काम गर्ने एक जना पुरुष मजदुरको पारिश्रमिक सात सय र महिलाको चार सय रहेको छ । उनको पहिले गहुँ भित्राउँदा दुई हजारदेखि २५ सय खर्च हुन्थ्यो । अहिले आठ सयदेखि एक हजारमा सवै काम सकिने पाण्डेय बताउँछन् ।
उनले मजदुरको अभाव र महङ्गो ज्याला र घरका काम गर्ने जनशक्ति नभएका आफु जस्ता परिवारको लागि यो मेसिन अत्यन्तै प्रभावकारी भएको बताए । थे्रसर संचालक पवन पाण्डेयले गाउँमा मजदुरको अभाव हुँदै गएपछि स्थानीय सहकारीले थ्रेसर मेसिन ल्याएको बताए । तर अहिले त्यो मेसिन व्यक्तिले संचालन गरेका छन् । उनले पाँच जना मानिसहरुलाई एक दिनभर लाग्ने गहुँ थन्काउन थ्रेसर मेसिन मार्फत २० मिनेट लाग्ने बताए । अहिले एक घण्टा थ्रेसर संचालन गरेको २४ सय मुल्य निर्धारण गरिएको संचालक पाण्डेयले बताए ।
पछिल्लो समय प्रविधि मार्फत खेति गर्न थालेसंगै जमिन बाँझो हुने क्रम रोकिएको जनता माविका शिक्षक विष्णु पाण्डेले बताए । उनले मजदुर पाउने समस्याको अन्त्य, समय र पैसा दुवैको वचत भएका कारण किसान काम गर्न उत्साहित भएको बताए । उनले अस्लेवामा हाते र ठुला ट्याक्टर मार्फत खनजोत, थ्रेसर मार्फत गहुँ, केराउ र चना छाँट्ने कामको सुरुवात भएको बताए । पछिल्लो समय गाउँगाउँमा आधुनिक प्रविधि मार्फत कृषि कर्म गर्नेहरुको संख्या अत्यधिक रहेको कृषि प्राविधिकहरुले बताएका छन ।
परम्परागत खेती प्रणालीमा परिश्रम र लागत बढि तर प्रतिफल कम हुने गर्दछ । आधुनिक खेति प्रणालीमा प्रविधि मार्फत कम लगानी तर धेरै प्रतिफल प्राप्त गरिने भएकाले किसानको प्रविधिमा आकर्षण बढ्दै गएको मदाने गाउँपालिकाका कृषि प्राविधिक दोमलाल भुसालले बताए । सत्यवति गाउँपालिका वडा नं १ वडाध्यक्ष भिमलाल पाण्डेय किसानहरु सुखभोगी भएकाले प्रविधिको खाँचो रहेको बताए ।
उनले सत्यवति गाउँपालिकाको प्रमुख उदेश्य कृषि र पशुपालन मार्फत आर्थिक समृद्धि भएकाले प्रविधिमा थुप्रै काम भइरहेको बताए । उनले ५० प्रतिशतमा मिनि टेलर, खेत जोत्न ठुला टयाक्टर, बिउ, मल बितरण साथै फलफुल, पशुपालन, मासु र दुधमा अनुदानको व्यावस्था गरिएको बताए । मानिसले सुखको खोजीमा गाउँ छोड्ने प्रवृतिको अन्त्यका लागि आफुहरु नयाँ ढंगका साग अगाडी बढ्ने सोचमा रहेको पाण्डेयले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्