fbpx

गुल्मीको पुर्कोटदहमा एकिकृत घुम्ति शिविर : गाउँमै नागरिकता र मिटरवक्स पाउँदा नागरिक खुसी

टोपलाल अर्याल । रुरु नेटवर्क
गुल्मी, १५ बैशाख जिल्ला प्रशासन कार्यालयको आयोजनामा मदाने गाउँपालिका ७ को पुर्कोटदहमा एकिकृत घुम्ति शिविर सम्पन्न भएको छ । शिविरमा तीन सय २१ जना महिला र एक सय ८९ जना पुरुष गरि पाँच सय १० जनाले नागरिक लिएका छन् । त्यस्तै दुई सय २३ महिला र एक सय ९१ पुरुषले फोटोसहितको मतदाता नाम दर्ता गरेको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी लक्ष्मण पाण्डेयले जानकारी दिए । त्यस्तै दुई सय ५५ जनाले कृषि सम्बन्धि सेवा लिएका छन् ।

आर्युवेद कार्यालय मार्फत एक सय १४ जना र पशु सेवा कार्यालय मार्फत एक सय ९३ जनाले सेवा लिएको पाण्डेयले बताए । त्यस्तै घुम्ति शिविरमा नेपाल बिद्युत प्राधिकरण मार्फत निशुल्क मिटरवक्स प्रदान गरिएको थियो । जसका कारण नागरिक अत्यन्तै खुसी भएका थिए । ‘बुढो मान्छे घरमा बिमारी तम्घास जान नसकेर बक्ति बालेकी छैन, गाउँमै पाए खुसी छु,’ ७५ बर्षीय सावित्रा रोकाले भनिन‘,गरिवको पैसा पनि जोगियो ।’ शिविरमा तीन सय ७४ जनाले निशुल्क रुपमा मिटरवक्स लिएको कार्यालय प्रमुख नारायण अर्यालले बताए । उनले एउटा मिटरवक्स लिन सदरमुकाम पुग्दा सामान्य पनि तीन हजारदेखि पैतिस सय खर्च हुने भएकाले नागरिकलाई गाउँमै पाउँदा धेरै राहत भएको बताए । त्यस्तै नेपाल टेलिकमले शिविर माफृत तीन सय जनालाई सिम कार्ड वितरण गरेको छ । भने घरेलु मार्फत तीन जनाको व्यावसाय दर्ता गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले जिल्लाका चार स्थानमा घुम्ति शिविर गर्ने योजना रहेको छ । जस अनुसार तीन स्थानमा शिविर सकिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । कालीगण्डकी गाउँपालिकामा २२ र २३ फागुन तथा चन्द्रकोट गाउँपालिकामा ७ र ८ चैत्रमा शिविर सकिएको छ । दुवै शिविरमा पाँच सय ३७ महिला र तीन सय ३१ पुरुषले नागरिकता पाएका छन् । त्यस्तै छ सय ४३ जनाले मतदाता परिचयपत्र लिएको थिए । भने चार सय ४४ जनालाई कृषि सम्बन्धी परामर्श र निःशुल्क बिउबिजन वितरण गरिएको थियो । गुल्मी अस्पताल मार्फत करिव पाँच सय बिरामीको स्वास्थ्य परिक्षण गरिएको थियो । अव अन्तिम पटक मालिका गाउँपालिकामा घुम्ति शिविर संचालन गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । उनले मालिकाका गाउँपालिकाको नेटा दर्लिङ्ग लक्षित गरेर एक दिन र अरु वडालाई मध्येनजर गरेर दुई दिन गरि तीन दिन शिविर संचालन गरिने बताए ।

गाउँ गाउँमा शिविर संचानल गर्दा सवैभन्दा बढि गरिव तथा बिपन्न व्यतिmलाई फाइदा हुने मदाने गाउँपालिकाका प्रमुख दान बहादुर केसीले बताए । त्यस्तै जिल्ला प्रशासन कार्यालय र मदाने गाउँपालिकाको समन्वयमा सार्वजनिक सुनुवाई समेत गरिएको थियो । मदाने गाउँपालिका प्रमुख दान बहादुर केसीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले गाउँपालिकाका प्रमुख गतिविधिको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा मदिरा नियन्त्रण हुन नसकेको, बिद्युत महसुल बुझाउन समस्या भएको, गाउँगाउँमा पोलहरु अलपत्र भएको, बजार अनुगमन नभएको लगायतका गुनासा स्थानीय नागरिकले गरेका थिए । नागरिकको गुनासाको जवाफ प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, प्रहरी प्रमुख दिपक कुमार बस्नेत, बिद्युत प्राधिकरणका प्रमुख नारायण अर्याल लगायतले दिएका थिए । कार्यक्रममा जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधी, जनप्रतिनिधी र राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्