fbpx

गाउँमै अपाङ्गता परिचय पत्र वितरण

टोपलाल अर्याल । रुरु नेटवर्क
गुल्मी, १६ बैशाख इस्मा गाउँपालिका ६ अम्मरपुरका टंक कुमालले दुवै आँखा देख्दैनन् । श्रीमति देवकी कुमाल र छोरा पिताम्बर पनि दृष्टिबिहिन छन् । कुमाल परिवार बर्षौदेखि पीडामै रहेको छ । आइतबार गाउँपालिकाले गाउँमै वितरण गर्ने अपाङ्ग परिचय पत्र लिन तीन जना आइपुगे । गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट, उपप्रमुख बिमला खत्री र प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले टंकलाई ‘ख’ श्रीमति देवकीलाई ‘घ’ र छोरा पिताम्बरलाई ‘ग’ वर्गको अपाङ्ग परिचय पत्र प्रदान गरे । सोहि ठाउँकी हरिकला कुमाल पनि बोल्दिनन् । हात–खुट्टाले काम गर्दैनन, आँखाले नदेखेको बर्षौ भए । उनले पनि गाउँपालिकाबाट ‘क’ बर्गको परिचय पत्र प्राप्त गरिन् । हरिकली कामीको घाँटीमा ठुलो प्वाल छ ।

पाँच बर्षअघि एक्कासी श्वासप्रश्वासमा समस्या आएपछि परिवारले हरिकलालाई उपचारको लागि भारत लगे । डाक्टरले स्वास नलीमा प्वाल पारेर उपचार गरे । डाक्टरले तीन महिनापछि पुन आउन सुझाव दिए । उनी आर्थिक अभावका कारण भारत फर्किनन् । पाँच बर्षदेखि बिस्तारामै जीवन कटाइरहेकी छन् । श्रीमान भिम बहादुर विकले बोकेरै वडा कार्यालय ल्याए । गाउँपालिकाले उनलाई ‘ख’ वर्गको परिचय पत्र प्रदान गरेको वडाध्यक्ष हिरा बहादुर जिसीले बताए । आइतबार ‘क’ बर्गका नौ, ‘ख’ र ‘ग’ वर्गका १६ तथा ‘घ’ वर्गका २१ जनालाई परिचय पत्र वितरण गरिएको जिसीले बताए ।
इस्मा गाउँपालिकाले पहिलो पटक वडा नं ६ को अम्मरपुरमा अपाङ्ग परिचय पत्र वितरण गरेको छ । गाउँपालिकाभरमा वडा नं ६ मा सवैभन्दा धेरै अर्थात ९७ जना अपाङ्ग व्यक्ति भएकाले सुरुवात अम्मरपुरबाटै गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताए ।
अघिल्ला बर्षहरुमा महिला तथा बालबालिका कार्यालयले अपाङ्गता परिचय पत्र वितरण गर्ने गरेको थियो । कार्यालय खारेज भएपछि स्थानीय सरकारको काँधमा जिम्मेवारी थपिएको छ । गाउँपालिकाले अपाङ्ग परिचय पत्रसम्बन्धी कार्याबिधी २०७५ जारी गर्दै स्थानीय तहबाटै अपाङ्गता परिचय पत्र वितरण सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए । जसका कारण थुप्रै पैसा खर्च गरेर सदरमुका पुग्नुपर्ने बाध्यता हटेको छ ।
पूर्ण अशक्त अपाङ्गतालाई रातो परिचय पत्र, अति अशक्त अपाङ्गलाई निलो, मध्यम अपाङ्गलाई पहेंलो र समान्य अपाङ्गता भएको व्यक्तिलार्ई सेतो परिचय पत्र वितरण गरिएको गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख गंगा पन्थीले बताइन् । सरकारले रातो परिचय पत्र भएकालाई दुई हजार र निलो परिचय पत्र भएकाहरुलाई छ सय मासिक समाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ ।
अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गर्नको लागि गाउँपालिकाले छुट्टै समिति समेत बनाएको छ । अपाङ्गगता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७५ को दफा ४२ अनुसार गाउँपालिकाले ‘स्थानीय समन्वय समिति’ गठन गरेको छ । जसमा गाउँपालिका उपाध्यक्ष संयोजक रहने गरी नौ सदस्यीय समितिको गठन गरिएको छ ।

गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले अपाङ्ग व्यक्तिलाई परिचय पत्र वितरण गर्दै राज्यले दिने सेवा सुविधासहित थप जिविकोपार्जनमा टेवा पुराउने कार्यक्रम गाउँपालिकाले संचालन गर्ने बताए । उनले अहिले पनि केहि रचनात्मक कामहरु गाउँपालिकाले गरिरहेकाले अर्को बर्ष अझै व्यवस्थित गरेर जाने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै स्थानीय समन्वय समिति प्रमुख तथा गाउँपालिका उपप्रमुख बिमला खत्रीले अपाङ्गहरुलाई राज्यले प्रदान गर्ने सानो भत्ताले मात्रै नपुग्ने भएकाले गाउँपालिकाबाट थप योजना र कार्यक्रम समावेश गर्नुपर्ने अवस्था रहेको बताइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्