fbpx

गुल्मीको ह्वाङदीमा निशुल्क स्वास्थ्य शिविर : करिव पाँच सय जनाले सेवा लिए

टोपलाल अर्याल । रुरु नेटवर्क
गुल्मी, १६ वैशाख । गुल्मीको विकट ठाउँ ह्वाङदीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । मालिका गाउँपालिका वडा नं ३ को ह्वाङदीमा भएको निःशुल्क महिला रोग सम्बन्धी स्वास्थ्य शिविरमा चार सय ९७ जनाले सेवा लिए । जसमध्ये दुई सय ७१ जनाले भिडियो एक्सरे तथा एकसय ७८ जनाले पाठेघरको मुखको क्यान्सर परिक्षण गराएका छन् । जाचँ गराएका महिलाहरुमध्ये आठ जनामा पित्त थैलीको समस्या देखिएको छ । त्यस्तै मृगौलाको पत्तथरी भएका ३६ जना, पाठेघर खसेका महिलाहरु आठ जना र पाठेघरको मुखको क्यान्सर भएका छ जना शंकासपद देखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक वसन्तराज भुसालले जानकारी दिए । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमको आर्थिक सहयोग, मालिका गाउँपालिकाको आयोजना तथा रेसुगां हस्पिटल प्रालिको प्राविधिक सहयोगमा बिहिबार मालिका गाउँपालिकाको वडा नम्बर ३ ह्वाङ्दीमा निःशुल्क महिला रोगसम्बन्धी संचाल गरिएको हो ।


गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई अब्बल बनाउन विभिन्न स्वास्थ्य शिविर संचालन गर्ने, प्रसुति सेवालाई सुरक्षित र भरपर्दो गराउन सबै वडामा बर्थिङ सेन्टर स्थापना गर्ने लगायतको काम गरेको छ । त्यस्तै सबै स्वास्थ्य सँस्थामा पर्याप्त औषधी राख्ने, एम्बुलेन्स सेवा, सामुदायिक स्वास्थ्य इकाईको स्थापना लगायतका काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भटराईले बताए । मालिका गाउँपालिकाले यो आर्थिक बर्षमा तीनवटा आँखा शिविर सम्पन्न गरिसकेको छ । जसमध्ये एउटा अप्रेसनसहितको शिविर र बाँकी दुईवटा जाचँ मात्र गरिएको छ । गत बर्ष महिला रोगसम्बन्धी एउटा निशुल्क शिविर गाउँपालिकाले गरेको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए । भने आउँदो वैशाख २८ बृहत निशुल्क मुटु सम्बन्धि स्वास्थ्य शिविरको आयोजना गाउँपालिकाले गरेको छ । बुटबलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका डाक्टरहरुद्धारा मुटु, मृगौला, सुगर लगायतको निशुल्क उपचार गरिने गिरीले जानकारी दिए ।
सुरक्षित प्रसुतीको लागि मालिका गाउँपालिकाले सबै वडामा वर्थिङ सेन्टर संचालनमा ल्याएको छ । स्वास्थ्य चौकीको पहुँचभन्दा टाढा भएकाहरुलाई आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले गाउँपालिकाले तीन स्थानमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्