fbpx

गुल्मीको सरकारी वकिल कार्यालय उद्घाटन महान्याधिवक्ताले भने : राम्रो भवनबाट अन्याय नहोस्

टोपलाल अर्याल । रुरु नेटवर्क
गुल्मी, १७ बैशाख जिल्ला सरकारी वकिल कार्यालय गुल्मीको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । भवन उद्घाटन गर्दै महान्याधिवक्ता अग्नि खरेलले राम्रो भवनबाट कसैलाई अन्याय नगर्न आग्रह गरे । उनले नागरिकलाई सुविधा सम्पन्न भवन भन्दा राम्रो न्याय चाहिएको बताए । खरेलले अब हत्कडीले मात्रै न्याय सम्पादन नहुनेमा जोड दिए ।

‘हत्कडी लगाएर डर, त्रास र यातना सृजना गरि न्याय सम्पादन हुँदैन, बरु न्याय मर्छ,’उनले भने,‘घटनाको गहिराईमा पुगेर प्रमाण खोज्नुस् ।’ उनले अपराध गर्ने मान्छे समाज र घर वरिपरीनै हुने भएकाले राम्रो वा हाम्रो मान्छेको नाममा प्रहरीलाई अनावश्यक दवाब नदिन सरोकारवालालाई आग्रह गरे । ‘प्रहरीले कसैलाई पत्र काट्न हुँदैन राजनैतिक भाग दौड र दवाव आउन थाल्छ,’खरेलले भने,‘पीडितलाई न्याय दिन सवैको सकरात्कम दवाव आवश्यक पर्छ ।’ त्यस्तै ५ नं प्रदेश बिशेषअधिकार समिति सभापति तथा सांसद कमलराज श्रेष्ठले जिल्लामा न्याय निरुपणको अवस्था उत्कृष्ट रहेको बताए । उनले अझै पनि जिल्लाका दुरदराजका नागरिक न्यायको पहुँचमा नभएकाले उनीहरुलाई कानुनी सचेतना आवश्यक रहेको बताए ।

सरकारी वकिल कार्यालय गुल्मीको भवन बिस २०७३ असारमा बाँसुरी सुनिल समिर जे.भीले निर्माणका जिम्मा पाएको थियो । दुई करोड नौ लाख एक हजार चार सय ७९ को लागतमा भवन निर्माण गरिएको निर्माण व्यवसायी बालसिंह काउछाले बताए । शहरी विकास तथा भवन कार्यालय पाल्पाको प्राविधिक सहयोगमा भवन निर्माण गरिएको हो । नवनिर्मित भवनको भुई तलामा थुनुवा, मुद्दा, अभिलेख, पीडित मैत्री कक्ष, बाल मैत्री कक्ष र प्रशासन शाखा रहेका छन् । भने पहिलो तलामा बैठक कक्ष, पुस्तकालय र लेखा, बयान कक्ष, सहायक जिल्ला न्यायाधिवक्ताको कार्यकक्ष र जिल्ला न्यायाधिवक्ताको कार्यकक्ष रहेको सरकारी वकिल कार्यालयका सहन्याधिवक्ता शान्ति प्रसाद शर्माले जानकारी दिए । त्यस्तै कार्यालयको दोस्रो तलामा कार्यालय प्रमुखको निवास, अतिथि कोठा रहेको शर्माले जानकारी दिए ।

कार्यक्रममा नायव महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेय, जिल्ला समन्वय समिति उपप्रमुख तुल्सी कुमारी श्रेष्ठ, रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसाल, प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, जिल्ला अदालतका न्यायधिस रामप्रसाद न्यौपाने, जिल्ला बार एशोसियसन अध्यक्ष गोपाल खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सहन्यायाधिवक्ता राम कुमार थापा, सेनानी रविन्द्र महर्जन, प्रहरी उपरीक्षक दिपक कुमार बस्नेत, शसस्त्र प्रहरी नायब उपरिक्षक दिनेश रायमाझी, अनुसन्धान अधिकृत दिगम्बर गिरी, विभिन्न कार्यालयका कार्यालय प्रमुख लगायतको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्