fbpx

मजदुर दिवसभन्दा काममै व्यस्त गुनासो : भोट दिन्छौ, चोट पाउँछौ ।

टोपलाल अर्याल । रुरु नेटवर्क
गुल्मी, १९ बैशाख । दैनिक काममै व्यस्त । काम नगरे छाक टर्दैन् । रेसुङ्गा नगरपालिका ९ की गोमा सुनारलाई दिवसको पत्तै छैन । ‘के होर दिवस ? बिहानै काममा आउने साँझ रात नपरे कोठामा पुगिदैन,’ सुनारले भनिन,‘ गरिवलाई जे दिवस भए पनि के काम ।’
चिदिचौर नजिकैको सडकमा काम गर्दै गरेकी सुनारले दैनिक चार सय कमाउँछिन् । बालुवा र इट्टा बोक्ने, ढुङ्गा दिने र मसला बनाउने काम उनले पनि गर्छिन । तर पारिश्रमिक एउटै छैन् । उनीसंगै काम गर्ने पुरुषले भने दैनिक सात सय कमाउँछन् । बुधबार १३० औ अन्तराष्ट्रिय मजदुर दिवस मनाइएको छ । तर गोमालाई पत्तो छैन । ‘समान काम, समान ज्याला, आठ घण्टा काम ,आठ घण्टा आराम’ नारामै मात्र सिमित भएको छ ।

प्युठान गौमुखी गाउँपालिका ३ की आयुना घर्तीमगरले दिवसको अहिलेसम्म पत्तो नभएको बताइन् । पेट धान्नै पर्ने बाध्यता छोडेर दिवस भन्दै नारा लगाउन नजाने उनको भनाई छ । त्यस्तै रैनादेवी गाउँपालिका पाल्पा ६ का थम्मन राकसकोटीले हातमा फोरा नपरेसम्म जिविकोपार्जन नहुने भएकाले घाम उदाएदेखि अस्ताउँदासम्म काममै व्यस्त हुने बताए । १६ बर्षदेखि ज्याला मजदुरी गदै आएका राकसकोटीले आफुहरु चुनावी भोट मात्रै भएको दुखेसो पोखे । ‘श्रमिक चुनावका भोट हुन, अरु बेला चोटनै चोट,’ उनले भने,‘जुन जोगी आए पनि कानै चिरेका ।’

जिल्लामा बाल श्रमिकको अवस्था अत्यधिक रहेको छ । तर एकिन तथ्याङ्क कसैसंग छैन् । जिल्लाका प्रत्येक होटल र निर्माणका काममा धेरै बालबालिकाको प्रयोग भइरहेको छ । केहि समय पहिले जिल्ला बाल सञ्जाल, प्रहरी, प्रशासन, इन्सेक र सृजनशील सामुदायिक विकास केन्द्रको पहलमा बाल श्रमिकलाई कामबाट मुक्त गर्ने अभियान संचालन भएको थियो । अहिलेसम्म होटेलमा काम गर्ने १२ देखि १८ वर्षका २० जना बालबालिका उद्धार गरिएको छ ।

भेटिएका बालबालिका धेरै नपढेका र केहीले बिचमै छाडेका छन् । उद्धार गरिएका बालबालिकाहरु अधिकांश बिहानबाट बेलुकासम्म काम गर्ने, बिद्यालय नपठाउने, पारिश्रमिक समयमै नदिने लगायतका रहेको जिल्ला बाल सञ्जालका अध्यक्ष सुमन पन्थीले बताए । होटेलमा काम गर्ने मात्रै नभएर अन्य विकास निर्माणका काममा लगाएका बालबालिकाहरुको स्थिती पनि फरक छैन् ।

तम्घासको होटलमा काम गर्ने १५ बर्षीय विकास पुनले होटेलका कामनै व्यस्त हुने भएकाले बिहानदेखि बेलुकासम्म काम गर्नुपर्ने बाध्यता रहेको बताए । उनले चिसोको समय हात खुट्टा सुन्निएर कहिलेकाँहि रुने गरेको पीडा समेत सुनाए । होटेल तथा निर्माणका काममा लगाइएका बालश्रमिक ५० प्रतिशत प्यूठानका, ३० प्रतिशत बाग्लुङ र बाँकी गुल्मीका रहेको जिल्ला बाल सञ्जालका अध्यक्ष पन्थीले जानकारी दिए ।

१३० औ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रममा रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले बास्तविक श्रमिक आर्थिक र सामाजिक रुपले पछि पर्नु दुखद भएको बताए । निर्माण मजदुर हक हित संरक्षण समितिका अध्यक्ष ओले रानाले आफहरुले श्रमिकहरुलाई एकताबद्ध गर्न खोजे पनि राज्यलेनै श्रमिकको पक्षमा रचनात्मक काम नगरेको आरोप लगाए ।

तपाईको प्रतिक्रिया दिनुहोस्