fbpx

गुल्मीमा करोडौका पुल अलपत्र पुलमा गहुँ झाँट्दै स्थानीय

टोपलाल अर्याल । रुरु नेटवर्क
गुल्मी, २४ बैशाख उल्लीखोला पुल । समयमै बनेको भए गाडी कुद्थे । अहिले गाउँलेले गहुँ झाँट्छन् । अलपत्र पुल स्थानीयको आगन हो । गहुँ झाँट्दै गरेका रुरु गाउँपालिका ५ बम्घाका श्याम बोटेले पुल बन्ने छाँट नभएको बताए । ‘ठेकेदार आउन छाडे पुल अलपत्र रह्यो,’उनले भने,‘गहुँ ढलान गरेको आधा पुलले आँगनको काम गरेको छ ।’ बडिघाट खोलामा निर्माणाधिन उल्लीखोला पुल साढे दुई बर्षदेखि अलपत्र रहेको छ । आठ करोड ७६ लाखको लागतमा रहेको पुल पटक–पटक म्याद गरेपनि अलपत्र छ । पुलको विस २०७० साल असार २६ गते लुम्बिनी–शान्ति जेभीले निर्माणको काम पाएको हो । उक्त पुल ०७३ साल असार ३ गते सम्पन्न हुनु पर्ने सम्झौतामा उल्लेख छ । अहिलेसम्म एक तिहाई काम मात्रै भएको छ । समयमै काम नसकिएपछि ०७३ पुस २६ गते पुन: म्याद थप गरियो । तर बिडम्बना म्याद थपपछि अहिलेसम्म काम नै भएन् । मदन भण्डारी राजमार्ग योजना कार्यालका निमित्त प्रमुख सरद कुमार आचार्यले निर्माण व्यावसायीले स्याण्ड बोइलिङ्गका कारण सोइल टेष्ट गरिरहेको बताए । आचार्यका अनुसार केहि दिन अघि तत्काल काम सुरु गर्न निर्देशनात्मक पत्र निर्माण कम्पनीलाई पठाइएको छ ।
पुल निर्माणको जिम्मा पाएको लुम्विनी शान्ति जेभि काठमाडौका प्रतिनिधि विनोद महर्जनले आफुले भर्खरै सोइल टेष्ट गर्ने टोली फिल्ड पठाएर आएकाले रिर्पोट आएसी काम गर्ने बताए । उनले काम गर्दै जाँदा क्विक साइड कन्डिशन देखिएपछि समस्या आएकोले काम रोकिएको महर्जनले बताए । त्यो समस्याको बारेमा विभाग र आयोजनामा पत्राचार गरेर स्टिमेट परिवर्तन गर्न खोजे पनि कर्मचारीहरु सकारात्मक नभएपछि आफुलाई काम गर्न गाह्रो भएको महर्जनको भनाई छ ।

गुल्मीको बडिघाटमा अलपत्र उल्लीखोला पुलमा गहुँ झाँट्दै स्थानीय ।
गुल्मीको बडिघाटमा अलपत्र उल्लीखोला पुलमा गहुँ झाँट्दै स्थानीय ।

बगर छोडेन तीन मुखे पुलले
चार बर्षसम्म रिडीको तीन मुखे पुलले बगर छोड्न सकेको छैन । गुल्मी, पाल्पा र स्याङजा जोड्ने यो पुल ०७१ मंसिर १५ गते पुलको शिलान्यास भएको हो । तत्कालिन सभासद चन्द्र भण्डारी र मुख्य सचिव लिलामणी पौडेलले पुलको शिलन्यास गरेका थिए । कुल ९ करोड ८८ लाख २६ हजार तीन सय ३२ रुपैयाँमा नयाँबाटो–रुबिना—मना जेबी निर्माण कम्पनीले कामको जिम्मा पाएको थियो ।
सम्झौतामा बिस ०७४ साल असार ९ गते पुल निर्माण गरिसक्नुपर्ने छ । तर निर्माण कम्पनीका प्रमुख महेन्द्र अधिकारीले काम गर्ने कुनै निश्चित समय नहुने बताउँछन् । ‘समयमै काम सकिने भए सकिहाल्थ्यो यो अप्ठ्यारो काम हो,’उनले भने,‘गर्दै जाँदा कहिले सकिन्छ पत्तो छैन ।’ उनले यो स्टिमेटनै नेपालमा नौलो, जमिन मुनिको काम गाह्रो र अप्ठयारो भएकाले समय लागेको बताउँदै अब केहि समयमै पुरा गरिने बताए ।

गुल्मीको रिडीमा अलपत्र तीन जिल्ला जोडने तीन मुखे पुल ।

काम अलपत्र अदालतमा मुद्धा
गुल्मी र स्याङजा जोडने पुल तीन बर्षदेखि अलपत्र छ । निर्माण व्यावासायी काम छोडेर अदालत धाइरहेका छन् । गुल्मीको रिडी र स्याङ्गजाको चण्डीभञ्ज्याङ्ग जोड्ने पक्की पुल ०६९ साल असार २५ गते सम्झौता भएको हो । ०७२ मै सक्नुपर्ने । सर्वोच्चमा मुद्धा दिएर व्यावसायीले काम नगरेको मदन भण्डारी राजमार्ग योजना कार्यालयले जनाएको छ । पुलको लागत दुई करोड २९ लाख २० हजार रुपैयाँ हो । विस ०७२ असार २४ गते सकिनुपर्ने सम्झौतामा उल्लेख छ । एकातिरको सामान्य पिल्लर र पुल वारिपारी जग निर्माण गरिएको छ । बिचको वेल फाउण्डेशको काम गर्दै जाँदा ठुलो ढुङ्गा आएकाले काम गर्न समस्या भएको निर्माण व्यावसायी अजय लामिछानेले बताए । आफुलाई सम्झौता भएको दुई बर्षपछि पुलको डिजाइन दिएकाले अदालतमा मुद्धा दिएको लामिछानेले बताए ।

बडिगाड खोलाकै हुँगा–सिस्ने जोड्ने पुलको पनि कामले पनि गति लिएको छैन् । एसबिएन निर्माण सेवा कम्पनी काठमाडौले ०७३ माघ १० गते सम्पन्न गर्ने गरि ०७१ साल असार ३१ गते सम्झौता सम्झौता गरेको थियो । ०७४ साउन ३१ गते पुन म्याद थप भयो । तर काम ज्यूँका त्यूँ छ । भर्खर डिजाइल रिभ्यिु भएर बिभागबाट आएको छ । त्यसैले काम भइरहेकाले पुन म्याद थप हुने मदन भण्डारी राजमार्ग योजना कार्यालयले जनाएको छ । पुलको लागत छ करोड १० लाख ६६ हजार हो । सुपर स्टक्चरको काम भएको निर्माण कम्पनीले जनाए पनि काम सोचे अनुसार नभएको सत्यवती गाउँपालिका प्रमुख पारिश्वर ढकालले बताए ।
चोरकाटेको पक्की पुलको काम पनि सोचे अनुसार छैन् । ०७४ साल पुस ३१ गते सम्म काम नभएपछि ०७५ साल कार्तिक ३० गते म्याद थपियो । तर काम अझै पुरा भएको छैन । एक करोड ४० लाख ४८ हजारको पुलको अहिले पाइल फर्मेशनको काम भइरहेको मदन भण्डारी राजमार्ग योजना कार्यालयले जनाएको छ । गुल्मीमा ०६९ सालदेखि ०७४ सालसम्म सम्झौता भएका पक्की पुलहरु अधिंकाश अलपत्र छन् । ०७४ पछिका केहि पुलहरु कार्यान्यवनका चरणमा छन । १६ वटा पक्की पुल शिलान्यास भएका मध्ये अहिले ३ वटा बाहेक १३ वटा पुलको काम बाँकी रहेको मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका निमित्त प्रमुख सरोज कुमार आचार्यले बताए ।
जिल्ला समन्वय समिति गुल्मीका सदस्य राममल्ल ठकुरीले जिल्लामा काम नगर्ने पुलहरुको गुनासो व्यापक आएकाले अनुगमन थालिएको बताए । उनले काम गर्दै गरेका योजनाहरुको गुणस्तरियता हेर्ने आफुहरुको काम भएपनि कामनै नगरि भाग्ने कम्पनीहरुको अरु कानुनी उपचार खोज्नु पर्ने बताए । त्यस्तै प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले योजना संचालन गर्ने कार्यालयसंग समन्वय गरेर काम नगर्ने कम्पनीहरुको खोजी गरेर कानुन अनुसार कारबाहि गर्नुपर्ने अवस्था रहेको बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्