fbpx

बाग्लुङ्ग भिमगिठेकी ६ बर्षीय बालिकाको मुटुमा प्वाल आर्थिक अवस्थाका कारण अलपत्र

टोपलाल अर्याल । रुरु नेटवर्क
गुल्मी, २९ बैशाख बडिगाढ गाउँपालिका ६ सुरकुडी बाग्लुङ्गकी बिबिसा थापा । भर्खर ६ बर्षकी पुगिन् । बेला–बेलामा सास फेर्न मुस्किल हुने र ढल्ने उनको समस्या छ । गाउँमा त्यो उपचार सम्भव थिएन । बालिकालाई शनिबार आमा शोभा थापाले चार घण्टाको बाटो हिडेर गुल्मीको अर्खबाङ्ग ल्याइन् । बरिष्ठ मुटु रोग बिशेषज्ञ डाक्टर बिशाल केसीले बालिकाको मुटुमा प्वाल परेको पत्तो लगाए ।
आमा शोभा छाँगाबाट खसे जस्तै भइन् । बिपन्न परिवारमा छोरीको अवस्था त्यसो भएपछि थप पीडा थपिएको छ । डाक्टर केसीले बालिकालाई छिट्टोभन्दा छिट्टो अप्रेशन गर्नुपर्ने सुझाव दिए । ‘बालिकाको तत्काल उपचार गर्नुपर्ने देखिन्छ, त्यसैले काठमाण्डौ गंगालालमा लैजान भनेको छु,’डाक्टर केसीले भने,‘ढिला सूस्ती गरे ज्यान जान सक्छ ।’ उनले बालिकालाई गंगालालसम्म लगे सवै उपचार निशुल्क हुने भएकाले ढिला नगर्न आग्रह गरे ।
बिविसाका बुवा पूर्ण बहादुर थापा हुन् । उनले अर्की श्रीमति बिहे गरेर बसेका छन् । पूर्ण बहादुरले बेवास्था गरेपछि श्रीमति शोभाले बिबिसासंगै तीन जना छोराछोरी माइतमै हुर्काइएकी छन् । माइती पक्षको पनि कुनै आर्थिक स्रोत छैन् । शोभाले ज्याला मजदुरी गरेर छोराछोरी हुर्काएकी छन् । जेठी छोरी बिसु थापा १२ र छोरा विकाश १० बर्षका भए ।
बिबिसालाई मुटुको समस्या भएको धेरै समय भएपनि बुवाको बेवास्था र आमाको कुनै उपाय नभएकाले आफुले शिविरमा लिएर आएको मालिका गाउँपालिका ४ की तुलसा अर्यालले बताइन् । उनले गाउँमा चन्दा उठाएर भएपनि उपचार गराउन सुझाव दिए पनि बुवाले कुनै वास्था नगरेका कारण समस्या भएको बताइन् । ‘नानीको अवस्था दैनिक नाजुक बन्दै गएको छ, बुबाले अर्की लिएर बसेका छन्,’उनले भनिन,‘आमा काठमाण्डौ पु¥याउन र बाटा खर्च जुटाउन समेत नसक्ने अवस्थामा छन् ।’
बडिगाढ गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजाले बालिका अवस्था सुनेर अत्यन्तै दुख लागेको बताए । उनले गाउँपालिकाको तर्फबाट बिधि र प्रक्रियाले भ्याएसम्मको सहयोग गरेर काठमाण्डौ पठाउने बताए । ‘बाटा खर्चनै नभएर बालिका मर्न दिदैनौ,’उनले भने,‘ कार्यबिधीमै टेकेर पाँच हजारदेखि २५ हजारसम्म सहयोग गर्न सकिन्छ ।’

बालिका बिबिसा थापा

तपाईको प्रतिक्रिया दिनुहोस्