fbpx

दिवा–सेवा केन्द्रमा दिन कटाउँदै जेष्ठ नागरिक

टोपलाल अर्याल गुल्मी, ३० जेठ । धुर्कोट गाउँपालिका ५ को वस्तुमा दिवा सेवा केन्द्र खुलेको छ । सोहि स्थानकी ७६ बर्षीय कुवारी सुनार दैनिक त्यहि भेटिन्छन् । बुढेशकालमा काम गर्ने कुरा भएन । बुढा–बुढीलाई समय बिताउनै मुस्किल । ‘काम गर्न पाखुरीमा बल भएन,छोरा देश बाहिर म एक्लै छु,’ उनले भनिन,‘ नाच्ने गाउने भएकाले दिन बताउन सजिलो भएको छ ।’ उनले केन्द्रमा नाच्ने, गाउने आफुजस्ता धेरै हुने भएकाले दुख–सुख साटासाट गर्न पाउँदा खुसी लागेको सुनाईन । अचेल कुवारी जस्तै उमेर पाकेकाहरु दिवा सेवा केन्द्रमा भेला हुन्छन् । धुर्कोट गाउँपालिका ५ वस्तुमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र संचालनमा भएपछि ज्येष्ठ नागरिक खुसी भएका छन् । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालय र धुर्कोट गाउँपालिकाको आर्थिक सहयोग तथा जनविकास केन्द्रको समन्वयमा सेवाकेन्द्र संचालन गरिएको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोख्रेलले बताए ।

दिन बितेको पत्तै हुँदैन

केन्द्रमा नाच्ने, गाउने, भजन–कृतन लगायतका क्रियाकलाप गरिने भएकाले बृद्धबृद्धाहरुलाई समय बितेको पत्तै हुँदैन् । जसका कारण दिवा सेवा केन्द्र जेष्ठ नागरिकका लागि दिन बिताउने उपयुक्त माध्यम बनेको पोख्रेलले बताए । गाउँमा अहिले प्राय घरमा बुढाबुढी मात्रै रहेका छन् । घरमै भएका पनि काममा जानुपर्ने बाध्यता छ । स्थानीय ८६ बर्षीय देविराम भण्डारी नियमित केन्द्रमा जान थालेको एक महिना भए । उनले घरमा बस्दा अल्छिपना आउने र दिक्क लाग्ने भएकाले सेवा केन्द्र समय कटाउन आउने गरेको बताए । आफुलाई गाउन–बजाउन नआए पनि अरुले गाएको र बजाएको देख्दा निकै आनन्द आउने गरेको भण्डारीले बताए ।दिन बितेको पत्तै हुँदैन

खाजाको समेत व्यावस्था

दिवा सेवा केन्द्रमा बृद्धबृद्धालले मनोरञ्जन मात्रै गदैैनन् । दैनिक विभिन्न प्रकारका खाजा समेत खाने गरेका छन् । दैनिक भजन कृतन गर्ने र फलफुल वितरण गरिने केन्द्रका संचालन समितिका कार्यबहाक अध्यक्ष माधव भण्डारीले बताए । बृद्धबृद्धाहरुलाई केरा, स्याउ, मिठाई लगायतका दैनिक फरक–फरक खाजा प्रदान गर्ने पनि भण्डारीले जानकारी दिए । तर यो कार्यक्रमलाई दुई महिनासम्म मात्र सिमित नराखी सधैभरी संचालन गर्नुपर्नेमा बृद्धबृद्धाहरुको जोड रहेको छ । केन्द्रमा भजन–कृतनमा आवश्यक सामाग्रीहरु उपलब्ध गराउने, खाजाको लागि आवश्यक समन्वय गर्ने लगायतका कामहरु जनविकास केन्द्रले गरिरहेको हरि मरासिनीले बताए ।

दुई महिनासम्म संचालन

दिवा सेवा केन्द्र जेठ र असार गरी दुई महिनासम्म संचालन हुनेछ । केन्द्रमा २०७३ सालदेखि नै औसीँका दिन भजन कृतन हुने गरेपनि १ जेठबाट दैनिक भजन कृतन सुरु गरिएको थियो । अहिले दैनिक २० देखि ३० जनासम्म जेष्ठ नागरिकहरु दिवा सेवा केन्द्रमा आउने गरेको केन्द्र संचालन समितिका कार्यवाहक अध्यक्ष माधव भण्डारीले जानकारी दिए । ५ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयको चार लाख र गाउँपालिकाको पाचँ लाख गरी कुल नौ लाखमा केन्द्र नियमित रुपमा संचालनमा आएको हो ।

दीगो बनाउँछौ : स्थानीय सरकार

धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले अहिले बजेट अभावले दुई महिना मात्रै संचालन गरेपनि अर्को बर्षबाट दिगो रुपमा संचालन गर्ने बताए । उनले केन्द्रमा बृद्धबृद्धाहरुलाई समय कटाउन सजिलो भएकाले अव परिवारले पनि सहयोग गर्नुपर्नेमा जोड दिए । उनले प्रदेश र स्थानीय सरकारसंगै परिवार र समुदायको सहयोग भए केन्द्र दिर्घकालिन रुपमा संचालन गर्न सकिने पोख्रेलले बताए । उनले उक्त सेवा केन्द्रलाई दीगो संचालनको लागि गाउँपालिकाले योजना बनाएको पनि जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्