fbpx

कालीगण्डकी गाउँपालिकामा एचआइभी एड्सका बिषयमा प्रशिक्षण

टोपलाल अर्याल गुल्मी, ३१ जेठ । कालीगण्डकी गाउँपालिकाका महिला स्वास्थ्य स्वयसेविकाहरुका लागि एचआइभी एड्सका बिषयमा प्रशिक्षण दिइएको छ । हाम्रो जीवन प्लसको आयोजना तथा कालीगण्डकी गाउँपालिकाको आर्थिक सहयोगमा पुर्तिघाटमा सचेतना कक्षा संचालन गरिएको थियो । गाउँपालिका उपप्रमुख तारा थापाले कार्यक्रमको उद्घाटन गरिन् ।

कार्यक्रमलाई संबोधन गर्दै थापाले महिला स्वयंसेविका मार्फत समुदायमा धेरै खाले स्वास्थ्यका कार्यक्रम संचालन गर्न सकिने भएकाले एचआइभी एड्सका बिषयमा गाउँपालिकाले यो कार्यक्रम संचालन गरेको बताइन् । त्यस्तै उनले कालीगण्डकी गाउँपालिका बजेट र योजना निर्माणको चरणमा रहेकाले महिला स्वयसेविकाहरुले पनि उपयुक्त प्रस्ताव पेश गर्न आग्रह गरिन् ।


हाम्रो जीवन प्लसकी अध्यक्ष सावित्रा ज्ञवालीले घृणाको दृष्टिकोण समुदायमा बिद्यमान भएकाल एचआइभी एड्स संक्रमित पर्दा पछाडी रहेको बताइन् । उनले बजेट अभावको कारण संक्रमितहरुलाई उचित सेवा र संरक्षण प्रदान गर्न गाह्रो भएको बताइन् । उनले अहिले जिल्लाका अधिकांश स्थानमा एचआइभी एड्सको परिक्षण नभएकाले संक्रमितहरु लुकेका हुनसक्ने अवगत गराइन् । ज्ञवालीले एचआइभी एड्स लागेका व्यक्तिहरु बाहिर नआउनुनै संक्रमण बढ्दै जानु भएकाले स्थानीय सरकारहरुले योजना बनाएर अगाडी बढ्नुको बिकल्प नरहेको बताइन् ।


कार्यक्रममा प्रशिक्षक अर्जुन भण्डारीले एचआइभी एड्स के हो ? संक्रमण, त्यसको अवस्था, समुदायमा परेको प्रभाव र महिला स्वास्थ्य स्वयंसेविकाको भुमिकाका बिषयमा प्रशिक्षण दिएका थिए । बिस २०६४ सालमा स्थापना भएको हाम्रो जीवन प्लसले एचआइभी एड्स संक्रमितहरुको लागि हेरचाह, आय–आर्जन तथा पुर्नस्थापना र बालबालिकाको लागि पोषण, शिक्षा लगायतका काममा सहयोग प्रदान गर्दै आएको कार्यक्रम संयोजक बिमल छन्तेलले बताए ।


गुल्मीमा दुई सय ७८ जनामा एचआइभी संक्रमण भेटिएको छ । संक्रमित मध्ये एक सय ५९ महिला र एक सय १९ पुरुष छन् । हाम्रो जीवन प्लस गुल्मीका अनुसार सबैभन्दा बढी सत्यवती गाउँपालिकामा २८ महिला र २३ पुरुष गरी ५१ जना संक्रमित छन् । मुसिकोट नगरपालिकामा २१ महिला र १५ पुरुष गरी ३६ जना, रेसुंगा नगरपालिकामा १४ महिला र १५ पुरुष गरी २९ जनामा संक्रमण देखिएकको संस्थाले जनाएको छ ।
गुल्मीदरबार गाउँपालिकामा ११ महिला र पाँच पुरुष गरी १६ जना, छत्रकोट गाउँपालिकामा २६ महिला र १२ पुरुष गरी ३८ जना, रुरु गाँउपालिकामा १६ महिला र ११ पुरुष गरी २७ जनामा संक्रमण देखिएको हाम्रो जीवन प्लसको कार्यक्रम तथा बित्त अधिकृत दया सागर विकले बताए । त्यस्तै मदाने गाउँपालिकामा पाँच महिला र छ पुरुष गरी ११ जना, चन्द्रकोट गाँउपालिकामा नौ÷नौ जना महिला र पुरुष गरी १८ जनामा संक्रमण देखिएको छ ।
इस्मा गाँउपालिकामा आठ महिला र सात पुरुष गरी १५, धुर्कोट गाउँपालिकामा १२ महिला र १० पुरुष गरी २२ जना, मालिका गाउँपालिकामा आठ महिला र छ पुरुष गरी १४ जना, कालिगण्डकी गाउँपालिकामा एक जना महिलामा एचआइभी संक्रमण देखिएको विकले जानकारी दिए । उनका अनुसार जिल्लामा १६ बर्षभन्दा मुनिका २६ जना एड्सबाट संक्रमित भएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्