fbpx

इस्मा गाउँपालिकाद्धारा नीति कार्यक्रम प्रस्तुत

सडक ग्राभेलदेखि निशुल्क एम्बुलेन्स

गुल्मी, १० असार । इस्मा गाउँपालिकाले आर्थिक बर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । ३३ करोड ५५ लाख ५२ हजारको बजेट गाउँसभामा पेश भएको छ । इस्मा गाउँपालिकामा बजेटले कृषि तथा पशु, खानेपानी, खरका छाना विस्थापन, स्वास्थ्य तथा भौतिक पूर्वाधार लगायतका क्षेत्रले प्राथमिता पाएका छन् ।

निशुल्क एम्बुलेसन्स सेवा

इस्मा गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुने आमाहरुलाई निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । सुरक्षित प्रसुती तर्फ आकर्षण बढाउन अहिलेको बजेटमा यो सेवा थप गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताए । त्यस्तै अव जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण समेत घर–घरमै पुगेर गर्ने नीति गाउँ सभामा प्रस्तुत भएको छ । साथै बिद्यार्थीहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर प्रत्येक महिना विद्यालयमै निशुल्क स्वास्थ्य शिविरहरु संचालन गरिने भएको छ । आगामी बर्ष दर्लामचौर स्वास्थ्य चौकिमा प्रयोगशाला सेवाको शुरुवात गर्ने, गाउँपालिकामै अत्यावश्यक खोपहरुको सुरक्षित भण्डारणको व्यवस्था लगायतको लागि ५० लाख बजेट गाउँपालिकाले विनियोजन गरेको बस्नेतले बताए ।

प्रत्येक वडामा खेल मैदान

खेल क्षेत्रको विकासको लागि इस्मा गाउँपालिका प्रत्येक वडामा एउटा खेलमैदान निर्माण गर्ने भएको छ । अहिले पनि वडा नं ६ मा अन्तराष्ट्रिय रंगशाला र वडा नं १ मा गाउँपालिका स्तरिय खेल मैदान निर्माणको काम भइरहेको छ । त्यो संगै अव प्रत्येक वडामा खेल मैदान निर्माण तथा गाउँपालिका स्तरिय अध्यक्ष कप खेलकुद प्रतियोगिता व्यवस्थित गर्दै लैजाने, वडा नं ४ मा निर्माणाधीन अवस्थामा रहेको बाल उद्यानलाई सम्पन्न बजेट बिनियोजन गरिएको गाउँपालिका उपप्रमुख बिमला खत्रीले बताइन् ।


उज्यालो इस्मादेखि खरका छाना बिस्थापन

इस्मा गाउँपालिकाले आगामी बर्ष सवै खरका छाना बिस्थापन गर्ने भएको छ । अहिलेसम्म चार सय ७५ घरहरुमा जस्ता पाता लगाउने कार्य सम्पन्न भएको छ । बाँकी सवै खरका छाना बिस्थापन गर्न १० लाख बजेट बिनियोजन गरिएको गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले बताए । भने विद्युतीकरण कार्यक्रमलाई विस्तार गर्न काठका पोल विस्थापनसंगै उज्यालो कार्यक्रमलाई निरन्तरता दिइएको बिष्टले बताए । उनले आगामी आर्थिक बर्षमा उज्यालो इस्मा घोषणा गरिने बताए । बैकल्पिक उर्जाको प्रयोगलाई प्रोत्साहन गरिने समेत उनले बताए ।

३० कि.मी सडक ग्राभेल

इस्मा गाउँपालिकाले आगामी आर्थिक वर्षसम्म कम्तीमा ३० कि.मी. सडक ग्राबेल गर्ने भएको छ । साथै गाउँपालिकाले सडक पुग्न नसकेका वस्तीहरुमा सडक पुराउने तथा सडकहरुको स्तरउन्नती गर्ने, सडक हेरालुको संख्या बृद्धि गर्ने प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताए । त्यस्तै गाउँपालिकाको गौरवको आयोजनाको रुपमा वातावरण मैत्री चक्रपथको विस्तृत सम्भाव्यता अध्ययनपछि काम भइरहेकाले आगामी बर्ष भित्र ट्रयाक खोलिने बस्नेतले बताए ।

आगामी बर्ष २ हजार घरमा धारा

इस्मा गाउँपालिकाले आगामी तीन वर्षमा प्रत्येक घरमा स्वच्छ खानेपानीको सुविधा उपलब्ध गराउने भएको छ । अहिलेसम्म चार सय २० घरमा “एक घर एक खानेपानी धारा” सम्पन्न भएको छ । यो योजनालाई प्रमुख प्राथमिकता दिइएकाले आगामी आर्थिक वर्ष भित्रमा दुई हजार घरधुरीमा एक घर एक धारा पु¥याइने गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले बताए । यो कामलाई गाउँपालिकाले गौरवको योजनाको रुपमा अगाडि बढाउने नीति लिएको बिष्टले बताए । उनले हरेक विद्यालयहरुमा बालमैत्री धारा सहितको स्वच्छ पिउने पानीको व्यवस्था गरिने बताए ।

कृषकको बीमा प्रिमियममा ५० प्रतिशत अनुदान

इस्मा गाउँपालिकाले कृषिको विकासका लागि ‘समृद्ध इस्माको आवश्यकताः कृषि र पशुपालनमा व्यवसायिकता’ भन्ने कार्यक्रमलाई निरन्तरता दिएको छ । यस अन्तरगत उत्पादनमा आधारित अनुदान, पशु बीमाको लागि कृषकको बीमा प्रिमियममा ५० प्रतिशत गाउँपालिकाले अनुदान दिइने गरी बजेट विनियोजन गरिएको प्रवक्ता गनु प्रसाद अधिकारीले बताए । त्यस्तै घर घरमा कृषि तथा पशु प्राविधकि सेवा उपलब्ध गराउने, कृत्रिम गर्भाधान प्रोत्साहन, तरकारी, फलफुल, कफी, मासु दुध, उत्पादनलाई पकेट र ब्लक बनाइ व्यवस्थित रुपमा संचालन गरिने भएको छ । जसको लागि एक करोड ३ लाख विनियोजन गरिएको छ । भने सहकारी क्षेत्रको विकासका लागि आठ लाख लागि विनियोजन गरेको अधिकारीले बताए ।

शिक्षा क्षेत्रमा एक करोड ५० लाख

गाउँपालिकाले समग्र शिक्षाको विकासको लागि एक करोड ५० लाख विनियोजन गरेको छ । वडा नं. ३ का विद्यालयबाट अनिवार्य शिक्षा लागु गरिने, बालविकास केन्द्र, पूर्व प्राथमिक कक्षा र कक्षा १ मा टिकाउ दर र सिकाई उपलब्धि बृद्धि गर्दै लैजाने र उत्तीर्ण दर शतप्रतिशत पु¥र्याउने पनि लक्ष्य लिइएको गाउँपालिकाले जनाएको । भने पठनपाठनलाई विद्यार्थीको नतिजासँग आवद्ध हुने गरी विद्यालय तथा शिक्षकलाई पुरस्कारको र दण्डको व्यवस्था गर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्