fbpx

मदाने गाउँपालिकाद्धारा उन्नत १३ भैसी वितरण, आगामी बर्ष दुधमा आत्म निर्भर बन्ने

गुल्मी, १० असार । मदाने गाँउपालिकाले किसानलाई उन्नत जातको भैसी वितरण गरेको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको स्विकृत कार्यक्रम अन्र्तरगत भैसी वितरण गरिएको हो । मदाने गाउँपालिका वार्ड नंं २ बाँझकटेरीको सिद्ध मालिका कृषी सहकारी संस्थाका किसानहरुलाई उन्नत जातका १३ वटा भैसी वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताए । गाउँपालिकाको ६० प्रतिशत र कृषकहरुको ४० प्रतिशत लगानीमा मुर्रा जातको उन्नत भैसी खरिद गरी किसानलाई हस्तान्त्रण गरिएको भण्डारीले बताए ।

किसानलाई भैसी हस्तान्त्रण गर्दै गाउपालिकाका अध्यक्ष दान बहादुर केसीले गाउँपालिका भित्रका किसानहरुको बिषयमा आफु गम्भिर भएकाले बिस्तारै निर्वाहमुखी खेती प्रणालीबाट ब्यावसायीक उद्यम सृजना गरिने बताए । उनले किसानहरुलाई प्रोत्साहन गरी आयआर्जन र आत्मनिर्भर बनाउने योजना अनुसार भैसी वितरण गरिएको बताउँदै अहिलेको बजेटमा पनि कृषि तथा पशुपालनलाई विषेश प्राथमिकतामा राखिएको बताए ।

उन्नत नश्लका भैसीको आम्दानी स्थानिय जातको भन्दा राम्रो हुने भएकाले अन्य कृषकहरुलाई पनि पशुपालनमा उत्प्रेरणा दिन गाउँपालिकाले अहिले तीन वडामा यो कार्यक्रम लागु गरेको गाउँपालिका उपप्रमुख सरिता खड्काले बताइन् । गाउँपालिकाको वडा नं २, १ र ६ मा भैसी वितरण गर्ने कार्यक्रम रहेको छ । उनले आगामी वर्षदेखि गाउँपालिकालाई दुधमा आत्मनिर्भर बनाउने योजनाका साथ काम भएको बताइन् ।

खड्काले पछिल्लो समयमा कृषि पेसा आत्मसम्मान रहित र निराशजनक बन्दै गएकाले त्यो गलत मानसिकतालाई तोड्न आवश्यक रहेको बताइन् । भैसी पालक कृषक क्रृषि भुसालले गाउँपालिकाले कृषि तथा पशुपालनमा हौसला थपिदिएकोमा खुसी ब्यक्त गरे । उनले आफ्नो उत्पादनको उचित बजारीकरणको लागि गाउँपालिकाले थप पहल गरीदिन अनुरोध समेत गरे ।

तपाईको प्रतिक्रिया दिनुहोस्