fbpx

पहिरो अपडेट : पहिरोमा बेपत्ता तीन जनाको शव फेला ज्यान गुमाउनेको संख्या १२ पुग्यो

गुल्मी, ८ साउन । सत्यवति गाउँपालिकाका दुई स्थानमा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । अझै एक जना बेपत्ता छन् । सत्यवति गाउँपालिका ४ को लिम्घामा पहिरोमा बेपत्ता भएका डेढ बर्षीय बालक सञ्जु विक र वडा नं ३ को ठुलोलुम्पेकमा पहिरोमा बेपत्ता माया र बवि विकको शव बुधबार साँझ फेला परेको सशस्त्र प्रहरी नायव उपरिक्षक दिनेश रायमाझीले बताए । लिम्घामा मंगलबार निर्मला विक, पम्फा विक, अञ्जली विक, हिमान्सु विक, छलि विक र सिवानी विक तथा ठुलोलुम्पेकमा तिल कुमारी र छोरा दर्शन तरामु मगर तथा दुर्गा बहादुर सिंजालीको शव फेला परेको थियो । पहिरोमा घाइते भएका ठुलोलुम्पेकका करिष्मा र धनी तरामुलाई दुई दिन पछि हेलिकप्टर मार्फत उपचारको लागि काठमाण्डौ लगिएको रायमाझीले बताए । लिम्घामा अझै सात बर्षीय तारा विक बेपत्ता छन् ।

मन्त्री आफै हेलिकप्टर मार्फत राहत लिएर आए
पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध भएपछि परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली बुधबार साँझ हेलिकप्टर मार्फत केहि राहत पहिरो प्रभावित क्षेत्रमा आएका छन् । परराष्ट्र मन्त्री ज्ञवाली बुधबार पहिरो प्रभावित क्षेत्र ठुलोलुम्पकमा हेलिकप्टर मार्फत २० क्विन्टल चामल, दुई क्विन्टल दाल र एक क्विन्टल चिउरा ठुलोलुम्पेकमा लिएर आएका थिए । मंगलबार पनि लिम्घा पनि मन्त्री ज्ञवाली राहत लिएर लिम्घा आएका थिए । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले मन्त्रीहरु संग सल्लाह गरेर बिपत व्यावस्थापन महाशाखा मार्फत हेलिकप्टरले पोखराबाट राहत लिएर आएको बताए । ‘सडकको कुनै बिकल्प भएन, राहत बाटोमै रोकिएपछि हेलिकप्टरको विकल्प भएन,’उनले भने,‘मन्त्रीहरुसंग समन्वय गरेर साँझ लुम्पेकमा केहि राहत पु¥यायौँ ।’ उनले जोखिममा भएका परिवारलाई सुरक्षित स्थानमा सारिएकाले अब खानपानमा समस्या हुने तर्फ आफुहरु सचेत भएको बताए ।

सवै सडक बन्द हुँदा सास्ती
पहिरो प्रभावित क्षेत्र सत्यवति गाउँपालिकाका सडकहरु अबरुद्ध हुँदा राहत वितरणमा समस्या देखिएको छ । मौसमका कारण सडक अवरुद्ध हुँदा स्थल मार्गबाट राहत वितरणमा समस्या थपिदै गएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । पहिरोले सवैभन्दा वढि मानवीय क्षति भएको वडा नं ४ लिम्घा पुग्ने सडक अबरद्ध छ । जसका कारण मंगलबार उद्धारमा पुग्ने सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी संघ, संस्था र रिर्पोटिङ्ग गर्ने पत्रकार साढे दुई घण्टा पैदल हिडेर घटनास्थल पुगेका थिए । भने राहत बोकेर हिडेका गाडीहरु शाहाघाट र रुद्रवेणीमै दुई दिनदेखि रोकिएका छन् । सडक अबरुद्ध भएपछि झण्डै ६ सय मानिसहरुलाई स्थानीय स्तरमा व्यावस्थापन गर्न निकै मुस्किल परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए । उनले गाडी बजारबाट आउने संभावना नभएकाले गाउँको स्टक दाल, चामल, चाउचाउ, बिस्कुट लगायतका सामग्री सकिएकाले थप व्यावस्थापन चुनौतिपूर्ण भएको बताए ।

जोखिम गाउँमा ६ सय घर छोडे
पहिरोले ठुलो मानवीय तथा भौतिक क्षति पु¥याएपछि दुई स्थानका करिव ६ सय घरपरिवार सुरक्षित स्थानमा सारिएको छ । सत्यवति गाउँपालिका वडा नं ३ ठुलोलुम्पेकको सिङ्गदी गाउँनै पहिरोको उच्च जोखिममा रहेको छ । लुम्पेककै अन्य वस्ति पनि पहिरोको खतरामा रहेकाले करिव ४ सय जनालाई घरडाँडा, अस्लेवा रामबारी, धर्मपुर मावि, ढुङ्गाचाल्ने, भानु प्रावी र धर्मपुर प्राविमा व्यावस्थापन गरेको उद्धारमा खटिएका सशस्त्र प्रहरी नायव उपरिक्षक दिनेश रायमाझीले बताए । त्यस्तै वडा नं ४ लिम्घामा पनि दुई सय घर परिवारलाई सरस्वति माविमा व्यावस्थापन गरिएको छ । वडाध्यक्ष दान बहादुर रानाका अनुसार पहिरोनै गएको गाउँका र अन्य जोखिम भएका गाउँका परिवार समेत पानी परेपछि रातिनै घर छोडर आएका छन् । खानेपानी, खाद्यन्य लगायतका कारण थप स्वास्थ्य समस्या देखिने भएकाले आफुहरुले त्यसको व्यावस्थानमा थप सुरक्षाकर्मीको माग गरेको रानाले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्