fbpx

सिंगापुरसँग नेपालको लज्जास्पद हार, टुट्यो नेपालको टी २० विश्वकप सपना

काठमाडौं- सन् २०२० मा अष्ट्रेलियामा हुने टी-२० विश्वकप क्रिकेटको एसियाली छनोटको निर्णायक खेलमा नेपालले आयोजक सिंगापुरसँग लज्जास्पद हार बेहोरेको छ। सिंगापुरले दिएको १ सय ९२ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १ सय ९ रनमै समेटिएको हो।

विशाल लक्ष्य पछ्याएको नेपालका कुनै ब्याट्सम्यनले जिम्मेवारीपूर्ण ब्याटिङ नगर्दा सिंगापुर ८२ रनले विजयी भयो। जितसँगै सिंगापुर टी-२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा पुग्न सफल भएको छ। निर्धारित २० ओभरको खेलमा १५ ओभर मात्रै मैदानमा टिक्न सकेको नेपालका ४ खेलाडीले मात्र दोहोरो अंकमा रन बनाउन सकेका थिए। उपकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ तथा दीपेन्द्रसिंह ऐरीले २३ रन जोडे। कप्तान पारस खड्काले १२ रन बनाउँदा सोमपाल कामीले ११ रनको पारी खेले। मैदान प्रवेश गर्ने बित्तिकै लामो सट हान्न खोज्नु नेपाली ब्याट्सम्यानको मुख्य कमजोरी बन्यो। विकेट गए पनि लामो साझेदारी गर्दै टिमलाई जिताउन सकिन्छ भन्नेमा कुनै पनि ब्याट्सम्यान विश्वस्त देखिएनन्। निकै हतारमा देखिएका नेपाली ब्याट्सम्यान सिंगापुरका बलरसामू निरीह सावित बनेका थिए।

सिंगापुरलाई जिताउन सेलाडोर विजयकुमार एक्लैले ४ विकेट हात पारे। ४ ओभरको स्पेलमा उनले २५ रन मात्र खर्चिएका थिए। विनोथ भास्करणको नाममा २ विकेट रह्यो।यसअघि इन्डियन एसोसियसन ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९१ रनको योगफल खडा गरेको हो। घरेलु मैदानमा सिंगापुरका टिम डेभिडले विष्फोटक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेपछि नेपालले बलियो लक्ष्य पाएको हो। उनले ४३ बलको सामना गर्दै ७७ रन जोडे। उनको परीमा ८ चौका र ३ छक्का सामेल थिए।

यसअघि १० रनको अवस्थामा पहिलो विकेट गुमाएको सिंगापुरले सुदृढ साझेदारी गरेको थियो। प्रारम्भिक ब्याट्सम्यान सुरेन्द्रन चन्द्रमोहन (८ रन)को रुपमा सिंगापुरले पहिलो विकेट गुमाएको थियो। सोपश्चात् अर्का प्रारम्भिक ब्याट्सम्यान रोहन रंगराजनसँग मिलेर डेभिडले तेस्रो विकेटका लागि ८९ रनको महत्वपूर्ण साझेदारी गरे। रंगराजनले ३ चौका र ४ छक्काको मद्दतमा ४९ रनको पारी खेले।

११औं ओभरमै १ सय रनको स्कोर पार गरेर बलियो अवस्थामा पुगेको सिंगापुरले आफ्नो सुदृढ ब्याटिङलाई कायमै राख्यो। डेभिडले अविनाश बोहराको बलमा ज्ञानेन्द्र मल्लको हातबाट क्याच आउट हुनुअघि विकेटकिपर ब्याट्सम्यान मनप्रित सिंहसँग ६६ रनको साझेदारी गरे। २७ बलमा ४२ रन जोडेका सिंहले ३ चौका र २ छक्का हिर्काए।

सिंगापुरका ब्याट्सम्यानअघि अविनाश बोहराबाहेक अन्य सबै नेपाली बलरहरु निरीह सावित बनेका थिए। ४ ओभर बलिङ गरेका अविनाशले ३५ रन दिएर ४ विकेट हात पारे। करण केसीले २ विकेट लिए। नेपालका वसन्त रेग्मी सर्वाधिक महँगा सावित भए। उनले ४ ओभरमा ५४ रन खर्चिएका थिए। प्रतियोगिताको दाबेदारको रुपमा रहेको नेपाली टोलीले बलिङ, ब्याटिङ र फिल्डिङ सबै क्षेत्रमा कमजोर प्रदर्शन गर्दै नतिजा सिंगापुरलाई सुम्पिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्