fbpx

पहिरो प्रभावितलाई अस्थायी आवास निर्माण

गुल्मी, १४ साउन । जिल्लाको सत्यवती गाउँपालिकाका पहिरोबाट बिस्थापित परिवारलाई अस्थायी आवास (सेल्टर) निर्माण थालिएका छ । पहिरोले घर गोठ बगाएका तथा जोखिममा परेका परिवारको लागि सेल्टर निर्माण गरिएको हो । सत्यवति गाउँपालिका ३ र ४ मा झण्डै चार सय परिवार बिस्थापित भएका छन् । अहिले चार सय परिवारको १२ सय ६० जनालाई विभिन्न बिद्यालयहरुमा राखिएको छ ।

अव बिस्तारै बिद्यालय संचालन गर्नुपर्ने भएकाले सोमबार नेपाली सेनाको वीरभद्र वंग गुल्म, सशस्त्र प्रहरी बल गुल्म र नेपाल प्रहरीको सक्रियतामा प्रभावितका लागि १७ वटा अस्थायी आवास निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । सुरक्षाकर्मीले महिला पुरुषका लागि छुट्टाछुट्टै शौचालय पनि निर्माण गरिदिएका छन् । पहिरोले बिस्थापितलाई वडा नं ४ को सरस्वति माजि र वडा नं ३ को धर्मपूर माबि, नवबिहानी प्राबि, धर्मपूर प्राबि, राम माबि, मनकामना प्राबि, साजपूर प्राबिमा राखिएको छ ।
एकै ठाउँमा धेरै बसोबास गर्दा मुस्किल परेकाले वडा नं १ अस्लेवाको देउडाँडामा आठ वटा र वडा नं ३ ठुलो लुम्पेकको देउरालीमा नौ वटा अस्थायी आवास निर्माण गरिएका सशस्त्र प्रहरी नायव उपरिक्षक दिनेश रायमाझीले बताए ।

क्षतिको विवरण संकलन सुरु

सत्यवति गाउँपालिकाका दुई स्थानमा १७ वटा घर, ६१ वटा गोठ, ३६ वटा शौचालय पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । आशिंक क्षतीमा १८ वटा घर, २३ वटा गोठ, १८ वटा शौचालय रहेको जिल्ला प्रशासन कार्यालयका अधिकृत लक्ष्मण पाण्डेले बताए । पहिरोमा पशु चौपाय तर्फ २८ वटा भैसी, एउटा गाई, ६७ वटा बाख्रा, दुई सय १९ वटा कुखुरा र १९ वटा बंगुर मरेको प्रारम्भिक तथ्याङ्क संकलन भएको पाण्डेयले बताए । वडा नं ३ को ठूलोलुम्पेकमा मात्रै सानाठूला गरेर पाँच सय र पाँच वटा पहिरो गएका छन् । दुई किलो मिटर सम्मका ठूलो पहिरोले धेरै क्षति गरेको छ । एक सातादेखि बाटो अवरुद्ध भएपछि खाद्यन्य र आवास निर्माणको सामग्री नेपाली सेनाको हेलिकप्टरमा लिएर प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, प्रहरी प्रमुख दिपक बस्नेत, सेनानी रविन्द्र महर्जन र सशस्त्र प्रहरी नायव उपरिक्षक दिनेश रायमाझी सहितको टोली पहिरो प्रभावित क्षेत्रमा पुगेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्