fbpx

गुल्मेली दुई मन्त्रीको जिल्ला मोह विकासमा प्रतिस्प्रर्धा बढ्दै

गुल्मी, ४ मंसिर । गुल्मीका दुई जना संघिय मन्त्री छन् । परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवाली र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट । दुवै व्यस्त र महत्पूर्ण मन्त्रालयमा हुन् । तर दुवै जना जिल्ला भ्रमणमा पनि त्यतिकै आउने गरेका छन् । पछिल्लो एक महिनामा दुवै जना मन्त्री गाउँ आए र एक दर्जन बढि कार्यक्रममा सहभागी भएर फर्किए । धेरै ठाउँमा निर्वाचित भएपछि नेता गाउँ फर्कदैनन् पनि । पहिले गुल्मेली नेतामा पनि त्यो समस्या नभएको होइन् । अहिले भने त्यस्तो छैन । मन्त्रालय व्यस्त भए पनि महिनामा एकचोकी जिल्ला आउने कोसिस आफु रहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले बताए । ‘जनतासंग आउन पाउँदा खुसी लाग्छ तर मन्त्रालय र त्यहाँको काम पनि जनताकै भएकाले फुर्सद निकाल्न गाह्रो छ,’उनले भने,‘छुट्टाछुट्टै कार्यक्रममा आउन भ्याइदैन, त्यसैले आएको बेला धेरै कार्यक्रम बन्छन् ।’


दुई मन्त्रीद्धारा पाँच स्वास्थ्यचौकी उद्घाटन
परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले आइतबार जुभुङ स्वास्थ्यचौकी उद्घाटन गरे । केहि दिन अघि श्रम रोगजार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले आफ्नो निर्वाचन क्षेत्रका चार स्वास्थ्यचौकीको उद्घाटन गरे । मालिका गाउँपालिका ६ अर्जेमा ल्यावसहित अर्जे स्वास्थ्यचौकीको भवन र मालिका गाउँपालिका ५ को छापहिले स्वास्थ्यचौकी भवन एकै दिन उद्घाटन गरेको मालिका गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए । त्यस्तै धुर्कोट गाउँपालिका ५ को वस्तु स्वास्थ्यचौकी र इस्मा गाउँपालिका १ को हस्तिचौर स्वास्थ्यचौकी एकै दिन उद्घाटन भएको नेकपा जिल्ला सचिव बीर बहादुर कार्कीले बताए ।


बिद्यालयदेखि पुल उद्घाटन
परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले पछिल्लो जिल्ला भ्रमणका क्रममा उपल्लो तम्घास माविको चार कोठे नयाँ भवन उद्घाटन गरे । बिद्यालयको राष्ट्रिय पुनर्निमाण प्राधिकरणको आर्थिक सहयोगमा गत बर्षदेखि निर्माण कार्य सुरु भएको थियो । कुल ६९ लाख ७८ हजार एक सय १२ रुपैयाँको लागतमा सम्पन्न भएको प्रध्यानाध्यापक राममणी पन्थीले बताए । बिद्यालयमा ०५९ सालदेखि सुस्त श्रवण र बौद्धिक अपांगता भएका ३२ जना बिद्यार्थीहरुले अध्ययन गर्दै आएको पन्थीले बताए । त्यस्तै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले इस्मा गाउँपालिका ६ अम्मरपुरको गोविन्द रत्ना लोकतान्त्रिक आधाभुत बिद्यालयको उद्घाटन गरे । राष्ट्रिय पुनर्निमाण प्राधिकरणको आर्थिक सहयोगमा गत बर्षदेखि निर्माण कार्य सुरु भएको थियो । बिद्यालय कुल ६१ लाख ६१ हजार रुपैयाँको लागतमा सम्पन्न भएको प्रध्यानाध्यापक तिलक केसीले बताए । बिद्यालयमा एक सय ३५ जना बिपन्न कुमाल तथा क्षेत्री जातिका बिद्यार्थीहरुले अध्धयन गर्दै आएका छन् । मन्त्री बिष्टले इस्मा गाउँपालिका १ र २ जोड्ने छिनुवा झोलुङ्गे पुलको समेत उद्घाटन गरे । पुल बनेपनि इस्माका वडा नं १, २, ३ र धुर्कोट गाउँपालिका ५ का नागरिकलाई बर्षातमा खोलो तर्ने जोखिम हटेको छ ।

रेसुङा एयरपोर्ट र गुल्मी अस्पतालको चासो
परराष्ट्र मन्त्री पदिप कुमार ज्ञवालीले निर्माणाधिन रेसुङा एयरपोर्ट तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले गुल्मी अस्पतालको निरिक्षण गरेका छन् । रेसुङा एयरपोर्टमा परिक्षण उडानपछि नियमित उडानको संरचना निर्माण कार्य भइरहेको छ । मन्त्री ज्ञवालीले निर्माण व्यावसायीलाई निर्माणमा छिटोभन्दा छिटो निर्माण कार्य अगाडी बढाएर ०७७ जेठसम्म नियमित उडानको वातावरण सृजना गर्न आग्रह गरे । यो बर्ष धावन मार्ग कालो पत्रे गर्ने र अन्य संरचना निर्माणको लागि ठेक्का भएर काम अगाडी बढेको छ । भने ५५ करोडको लागतका अत्याधुनिक गुल्मी अस्पताल निर्माण हुने भएको छ । मन्त्री गोकर्ण बिष्टले अस्पताल निर्माण स्थलको निरिक्षण गर्दै र अब बन्ने गुल्मी अस्पताल यो जिल्लासंगै अर्घाखाँचीका जनताको पनि भाग्य र भविष्य भएको बताए । राष्ट्रिय पुनर्निमाण प्राधिकरणको आर्थिक सहयोगमा अस्पताल बन्ने भएको हो ।


नेता कार्यकर्तादेखि जनप्रतिनिधीको गुनासो सुन्दै
प्रदिप कुमार ज्ञवाली र गोकर्ण बिष्ट दुवै जनाले जिल्ला आउँदा कार्यकर्तादेअि जनप्रतिनिधी, कर्मचारी र जनप्रतिनिधीको समेत गुनासो सुन्ने गरेका छन् । आन्तरिक रुपमा पार्टी प्रशिक्षणसंगै कर्मचारी र जनप्रतिनिधीलाई औपचारिक रुपमा भेटेर गुनासा सुन्ने, सुझाव लिनेदिने तथा निर्देशन दिने कुरामा दुवै मन्त्री सक्रिय देखिएका छन् । जिल्लामा पाएका सुझाव तथा विकास निर्माणका बिषयमा काठमाण्डौ फर्किएर समिक्षा गर्ने गरिएको परराष्ट्र मन्त्री ज्ञवालीका स्वकीय सचिव जंग नेपालीले बताए । दुवै जना संघिय मन्त्री भएकाले गुल्मी जिल्लाको विकास निर्माणलार्ई बिशेष रुपमा हेर्ने गरिएको छ । त्यस कारणले मन्त्रीहरुले जिल्ला आएको बेला ठुला विकास निर्माणका योजना र स्थानीय तहको कामको बिषयमा निकै चासो दिने गरेको जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले बताए । ‘दुई संघिय र एक प्रदेश मन्त्री जिल्लाले पाएकोमा खुसी छौ,’उनले भने,‘जिल्ला आइरहने, जनप्रतिनिधी र कर्मचारी भेट्ने तथा आम नेता कार्यकर्ता र जनतासंग भइरहने संवाद तथा अन्तरक्रियाले सवैलाई थप जिम्मेवार बनाएको छ ।’

तपाईको प्रतिक्रिया दिनुहोस्