fbpx

११ बर्षीया लक्ष्मीको काँधमा दुधे बालक एउटै घरका चार जनाको मृत्यु

गुल्मी, १० मंसिर कुलदिप विक डेढ बर्षका भए । चार महिनाको फरकमा बुबाआमा बिते । टाउको ओत्ने घर छैन् । साहुको बन्धकीमा जमिन । अहिले ११ बर्षीया लक्ष्मीको काँधमा डेढ बर्षीय दुधे भाई र १० बर्षकी बहिनी छन् । बुबा मीन बहादुर विक गत बैशाख बिते । गत भदौमा आमाको पनि मृत्यु भएपछि बालबालिका बिचल्लीमा परेका छन् । उनीहरुको घर मदाने गाउँपालिका ५ मलागिरी हो । लक्ष्मीसंग १० बर्षकी बहिनी मोनिका र भाई छन् । लक्ष्मी र मोनिकाको उमेर स्कुल जाने छ । तर अक्षर चिन्दैनन् । ‘इण्डियामा कहिलेकाँही स्कुल जान्थे, रहर भएर के गर्ने सानो भाइ कसले हेर्ने,’उनले भनिन,‘खानकै समस्या छ ।’ बिरामी र दुधे बालक भएकाले हुर्काउन निकै मुस्किल परेको लक्ष्मीकी साइँली आमा सुन्तली विकले बताइन् । ‘विपन्न दलित गाउँ भएकाले सवैका आफनै पीडा छन्,’उनले भनिन,‘आमाको दुध पनि राम्रोसंग पाएन, गाउँमा भैसीकै दुध पनि पाउन मुस्किल छ ।’

चार महिनाको फरकमा बुबाआमाको मृत्यु
विक परिवारको घटना अचम्मको छ । मीन बहादुर विक भारतमा मजदुरी गर्थे । सवै परिवारसंगै थिए । छोरा जन्मिएपछि श्रीमती जुठी बेसरी थला परिन् । आमाछोरा ६ महिना अस्पतालमा भर्ना भएकाले मीन बहादुरलाई त्यो खर्च थेग्न मुस्किल प¥यो । त्यहि खर्च जोहो गर्दै हिडिरहेकै बेला मीन बहादुरको एक्कासी मृत्यु भएको छिमेकी सुन्तली विकले बताइन् । छिमेकी खीम बहादुर विकले उनको क्रिया कर्म गरे । आर्थिक अवस्था नभएपछि श्रीमती जुठी थला परेको ज्यानसहित छोराछोरी बोकेर गत असारमा घर आइन् । उनको माइत मदाने गाउँपालिका ६ पुर्कोटदहमा हो । उनी त्यहि बस्दै आएकी थिइन् । संयोज भदौमा उनको पनि मृत्यु भयो । त्यसयता बालबालिका अभिभावक बिहिन भएका छन् । अहिले तीन महिनादेखि तीन जना बालबालिका छिमेकीहरुको आश्रय लिएको बसेको वडाध्यक्ष हिमाल खड्काले बताए ।

बिचल्लीमा परेका मदाने गाउँपालिका ५ मलागिरीका लक्ष्मी र कुलदिप विक ।

गाडीको ठक्करबाट दाजु बहिनीकै मृत्यु
मीन बहादुर विकका पाँच जना छोराछोरी हुन् । सवै जना भारतमा संगै थिए । दुई छोराछोरीको गाडीको ठक्करबाट ज्यान गयो । १४ बर्षीया अस्मिता विकको ६ बर्ष अघि भारतको जीरापुरमा गाडीले ठक्कर दिएर मृत्यु भयो । छोरी मरेकी चोट सेलाएको थिएन । कमाउन थालेका २१ बर्षका छोरा सुर्य विकलाई पनि तीन बर्ष अघि गाडीले ठक्कर दियो । त्यो कारणले पनि मीन बहादुर र उनी श्रीमती मानसिक रुपमा विक्षिप्त हुँदै आएका थिए । अहिले उनीहरुको पनि मृत्यु भएपछि बालबालिका अभिभावक बिहिन भएको वडाध्यक्ष खडकाले बताए ।

बिचल्लीमा परेका बालबालिकाको बारेमा मदाने गाउँपालिकाका अध्यक्ष दान बहादुर केसीको ध्यानाकर्षण गराउँदै मलागिरीका दुजमान खड्का ।

क्षतिपूर्तिका पाउने आश
मीन बहादुरकी छोरी अस्मिताको भारतका गाडीले ठक्कर दिएपछि पाँच लाख क्षतिपूर्ति पाएक थिए । त्यो मीन बहादुरलेनै निकालेर खर्च गरेको आफन्त बताउँछन् । संयोग २१ बर्षीय छोरा सुर्य विकको पनि गाडीले ठक्कर दिएर मृत्यु भयो । क्षतिपूर्ति स्वरुप ३२ लाख पाउने सोहि ठाउँका फुर्से विकले बताए । त्यसको लागि कागज पत्र समेत मावलीहरुसंग छन् । तर भारतमा त्यो प्रक्रिया पुरा गरेर पैसा ल्याउने आफन्त नभएकाले समस्या भएको छिमेकी दुजमान खड्काले बताए । उनले त्यो पैसा बालबालिकाले पाउनेनै भए जीविकोपार्जनमा सहज हुने खड्काले बताए । बालबालिका सानै भएकाले ती बालबालिका लगेर नगएसम्म भुक्तानी प्रक्रियानै नहुने भएकाले समस्या परेको छ । मदाने गाउँपालिका प्रमुख दान बहादुर केसीले प्रक्रिया मिलाउन आउने जाने व्यावस्था सहित विचल्लीमा परेका बालबालिकालाई कुनै संघ–संस्थामा संरक्षणको पहल गर्ने बताए । त्यस्तै गाउँपालिका उपप्रमुख सरिता खड्काले बालबालिकालाई नयाँ कुनै संरक्षण गर्ने उपाय नभए आफुले जिम्मा लिएर अध्ययन गराइदिने बताइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्