fbpx

सिंजाली भर्सेज दर्लामी दोस्रोपटक वडा अध्यक्ष : तेस्रोपटक पराजय

गुल्मी : १५ मंसिर जिल्लाको रुरु क्षेत्र गाउँपालिका ६ रिमुवामा वडाध्यक्ष पदको लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गिरीप्रसाद सिंजाली विजयी भएका छन् । उनले कुलमत मध्ये आठ सय २ मत प्राप्त गरी बिजयी भएको मुख्य निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । उनी ०७४ सालको स्थानीय तहको चुनावमा वडा सदस्य पदमा बिजय भएका थिए । टिकट पाएपछि निर्वाचित वडा सदस्य पद छोडेर वडा अध्यक्ष पदको जोखिम मोलेर चुनावी प्रतिस्पर्धा उत्रेका सिंजालीलाई राम्रो सफलता मिलेको छ । उनले सम्पुर्ण मतदातालाई धन्यवाद व्यक्त गर्दै सबैसंग मिलेर रिमुवाको विकासमा लाग्ने बताए ।नेकपाका सिंजाली ७५ मतको मतान्तरले विजय भएको मुख्य निर्वाचन अधिकृत कृष्ण प्रसाद पौडेलले बताए । त्यस्तै सिंजालीका निकटम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार बेदप्रसाद दर्लामीले सात सय २७ मत ल्याएर पराजीत भएका छन । दर्लामी तेस्रोपटक चुनावी मैदानमा थिए । ऊनी ५६ सालको चुनाव ८१ र ०७४ सालको चुनावमा ९ मतले पराजित भएका थिए ।

गत स्थानीय तहको चुनावमा नेपाली काङ्ग्रेस र तत्कालीन माओवादीबिच तालमेल भएको थियो । भने अहिले नेकपा र जनमोर्चाबीच चुनावी तालमेल भएको थियोे । उक्त वडामा ०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेवाट निर्वाचित वडा अध्यक्ष पुर्ण बहादुर रेग्मीको निधन भएपछि उपनिर्वाचन भएको हो । दुई हजार ४८ जम्मा मतदाता रहेको रिमुवामा ७५.३९ अर्थात  १५ सय ४४ जनाले मात्रै मतदान गरेका थिए  । दुई मतदान स्थल मध्ये ‘क’ मा चार सय २७ महिला र तीन सय ६१ पुरुषले मतदाताले मतदान गरेका थिए । भने ‘ख’ मतदान केन्द्रमा चार सय ४९ महिला र तीन सय सात पुरुषले मतदान गरेको मतदान अधिकृत कृष्णशरण लामिछानेले जानकारी दिए । जम्मा खसेका १५ सया ४४ मतमा १४ मत बदर भएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्