fbpx

मृगौला फेल भएर गुल्मीमा एउटै परिवार तीनको मृत्यु

कान्छा जीवन र मरणको दोसाँधमा

गुल्मी, २४ पुस । व्यक्ति र परिवारमा कहिलेकाहीँ शोक पर्छ । त्यसको सामना चाहेर वा नहाचेर गर्नैपर्छ । तर दुख र दर्दले पनि सिमा नाघेपछि परिवारलाई सहन मुस्किल पर्ने रहेछ । गुल्मीको मुसिकोट नगरपालिका ७ वामी अज्र्याको न्यौपाने परिवारलाई त्यहि भएको छ । यो परिवारमा अनौठो पीडा छ । त्यो पीडा घट्दैन तर बर्षैपिच्छे थपिएको छ । न्यौपाने परिवारमा मृगौला फेल भएर तीन जनाको लगातार मृत्यु भयो । अहिले एक जना जीवन र मरणको दोसाँधमा छन् । जसका लागि परिवारले सहयोगको याचना गरिरहेको छ । वामी अज्र्याका भोला न्यौपानेका डेढ बर्षयता मृगौला रोगले पीडित बनेका छन् ।
जेठा, माइला र साइलाको मृत्यु
भोलाका जेठा दाजु प्रकाशको ३१ वर्षको उमेरमा मृगौला फेल भएकै कारण निधन भएको हो । २८ वर्षको उमेरमा माइला दाजु तारापतिले पनि सोहि कारण ज्यान गुमाएको पीडित भोला न्यौपानेले बताए । साइला दाजु डिलारामको गत वर्षको मंसिर १७ गते ३३ वर्षको उमेरमा ज्यान गयो । डिलारामको मृगौला प्रत्यारोपण गरिए पनि त्यसले छ वर्षबढी काम नगरेको कारण मृत्यु भएको न्यौपानेले बताए ।
न्यौपाने परिवारमा पाँच भाई छोरा
स्थानीयका अनुसार कलाधर न्यौपानेका पाँच भाइ छोरा हुन् । तीमध्ये तीन भाइको अल्पायुमै मृगौला रोगका कारण निधन भैसकेको छ । एक छोरा सोही रोगका कारण थलिएका छन् । पाँच भाईका बुवा कलाधरको पनि २०५५ सालतिर शरीर फुलिने समस्याका कारण निधन भएको छिमेकी पार्वति लामिछानेले बताइन् । उनले अहिले जस्तो स्वास्थ्य सेवाको पहँुच नभएका कारण रोगको स्पष्ट पहिचान नहुँदै मृत्यु भएको बताइन् । भोलाका काइँला दाजु सुरज वैदेशिक रोजगारीको क्रममा साउदीमा छन् । आमा केतुकलाको पनि मृत्यु भइसकेको छ ।

भारतमा मजदुरी र रोग
थपिदै गएको पारिवारिक पीडाका कारण भोला कामको शिलसिलामा भारत हरियणामा थिए । एक्कासी मृगौलाको समस्या देखिएको भोलाले बताए । उनले अहिले पनि हरियणास्थित मनिमल्टि स्पेसलाइट हस्पिटलमा हप्ताको दुई पटक डायलासिस गराइरहेका छन् । उनकी श्रीमतीले हरियणामै सानोतिनो खाजा पसल चलाएकी छिन् । तर, बिरामी श्रीमान् र सानो छोरालाई स्याहार गर्ने जिम्मेवारीका कारण उनले त्यसमा समेत सफलता प्राप्त गर्न सकेकी छैनन् । भोला मिर्गाैला प्रत्यारोपण गर्न चाहान्छन् । बाँचेर केही गर्ने आशा जागेको छ तर उपाय छैन । ‘मृर्र्गौला ट्रान्सप्लान्ट गर्ने विचार गरेर आफन्तसँग गुहार मागेको छु, मेरो सम्पति दुखकै खर्चले सकाएँ,’उनले भने,‘शुभेच्छुकले दया देखाए बाँच्ने आशा छ ।’ उनले शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक बुटवल शाखामा रहेको आफ्नो खाता नं.००१२०१००२१५१०३०००००१ मा रकम सहयोग गर्न आग्रह गरेका छन् ।
झण्डै चार लाख सहयोग
भोलाको सहयोगका लागि झण्डै चार लाख संकलन भएको छ । आइतबार बुटवलको दीपनगरमा वामी विश्व सम्पर्क मञ्च जापान शाखाले जुटाएको तीन लाख ९१ हजार ४८ रुपैंयाँ न्यौपानेलाई प्रदान गरिएको छ । वामीसँग जोडिए विभिन्न देशमा रहेकाहरुले सहयोग गरेका छन् । त्यस्तै तिलोत्तमा–८, प्रदीपनगरका वरिष्ठ समाजसेवी चिन्तामणी चालिसे र वामीका राकेश केसीले पनि भोलालाई आर्थिक सहयोग गरेका छन् । मञ्चको जापान शाखा अध्यक्ष बोधशाली गौतमको नेतृत्वमा संकलन भएको रकम निवर्तमान अध्यक्ष रवि घिमिरे, नारायण चालिसे, लाल बहादुर थापा लगायतले न्यौपानेलाई हस्तान्तरण गरेका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्